महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ५ असार । मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।

मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ। खाद्यान्नको गुणस्तर अनुसन्धानको क्रममा प्रयोग हुने ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइल भ्यान’ खरिदमा कमिसन खाई रकम भुक्तानी गरेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइलभ्यान’ प्रुडेन्ट मेडिटेक इन्टरनेसनलले आपूर्ति गरेको थियो ।