सरकार मधेसी जनताको अधिकार कटौति गर्न लागेको महन्थ ठाकुरको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

सरकार मधेसी जनताको अधिकार कटौति गर्न लागेको महन्थ ठाकुरको आरोप

महन्थ ठाकुर

काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकार कानुन मार्फत मधेसी जनताको अधिकार कटौति गर्न लागेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले कानुनी रुपमा नै अधिकार कटौतिको प्रयासमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो “यो संविधानले एउटा विभाजन श्रृजना गरेको छ । राज्य र विभिन्न समुदायको बीचमा । एकअर्काप्रति संशकित छ । यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ । जसरी यहाँ लाल बत्ती बल्ना साथ अभिव्यक्ति बन्द हुन्छ । आज कानुनद्वारा लालबत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लाल बत्ती राखिएको छ । जो जनताको अधिकार कटौति गर्ने अवस्थामा गईरहेको छ ।”

केन्द्र सरकारले मधेसमाथि नाकाबन्दी लगाएको आरोप उहाँले लगाउनुभयो । बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबैमा मधेस उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रुपमा रहेको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “यहाँ नाकावन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भईरहेको कहिलेही कसैले बोलेको छ ? उसको बजेट किन कम ? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन । शासन प्रशासनमा कति छ ? यो नाकाबन्दी होइन मधेसको ? मधेस नेपालको आन्तरिक उपनिवेशको रुप छ । मधेस खुला जेल छ । सबै बन्दी छ ।”

मधेसलाई अहिले पनि विभेद कायमै रहेको भन्दै उहाँले विभेद कायम रहेसम्म आफुहरुको विरोध जारी रहने बताउनुभयो । संसदबाट त्रुटी हुँदा विश्वमा तानाशाहहरु उत्पन्न भएको सन्दर्भ उल्लेख गर्दै उहाँले आफुहरु पनि तानाशाहहरु उत्पन्न हुने हुन् कि भनेर आशंकित बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले पनि मधेस शशंकित छ । आतंक छ । भय छ । पीडा छ । दर्जनौ व्यक्ति मधेस आन्दोलनका कारण जेलमा छन् । सरकारको सुरक्षा निकायबाट गोली लागेर मृत्यु भएका मानिसहरुलाई शहीद घोषणा गरिएको छ । भने पक्राउ परेका मानिसहरु कसरी किन दोषी भए ? क्रिमिनललाई त शहीद घोषणा गरिदैन ।”

राजपाले लामो समय देखि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि संसदमा आवाज उठाईरहे पनि सुनुवाई नभएको भन्दै उहाँले त्यसतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो । मलेसियमा रहेका मानिसमाथि पनि मधेस आन्दोलनको मुद्दा चलाईएको भन्दै उहाँले प्रतिवेदन सार्वजनिक गरि वास्तविक दोषि माथि कारवाही गरिनुपर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);