आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रम

pm devlop

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताउनुभएको छ । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उहाँले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औँ बैठकका क्रममा उहाँले आयोजना ढिला हुँदा लागत पनि दुई गुणा बढ्ने र त्यसको प्रतिफलको लाभ पनि पर्याप्त नहुने बताउनुभयो । “राज्यलाई दोहोरो गम्भीर हानि पु¥याउने कम्पनीलाई काम दिन सकिन्न”, उहाँले भन्नुभयो, “आयोजना पूरा गरेपछि त्यस्ता ठेकेदारलाई ‘डिसक्वालिफाई’ गर्नुपर्छ । ”

बैठकका क्रममा प्रधानमन्त्री ओलीले केही आयोजनाको उदाहरण दिँदै प्रक्रियाका नाममा र गलत ‘ब्रिफिङ’ले गर्दा पनि आयोजनाहरू पछि धकेलिएको बताउनुभयो । “केही नुनिलो माटोका कारण सिक्टा सिँचाइ आयोजनाको काम नै अगाडि बढाउन सकिएन भन्ने कुरा सुनेँ”, उहाँले भन्नुभयो, “म आफँैले भ्रमणका क्रममा त्यसै ठाउँमा बाहिरबाट घुलनशील माटो ल्याएर आयोजनालाई गति दिन सकिन्छ पनि भनेको थिएँ तर प्रक्रियाका नाममा त्यसमा ढिला भयो । ”

त्यस्तै मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा ठेकेदार भाग्ने समयपछि त्यो पूरा हुने गलत जानकारी आफूलाई दिइएको उहाँले बताउनुभयो । “बारम्बार मौखिक रूपमा कुरा भएपछि मैले सचिवलाई नै डायरीमा आयोजना पूरा हुने मिति लेख्न लगाएँ”, उहाँले भन्नुभयो, “तर ठेकेदार भाग्यो । आयोजना भनेको समयमा पूरा भएन । ”

आयोजनाको प्रक्रियाभन्दा पनि कतिपय अवस्थामा त्यसको प्रतिफललाई केन्द्रमा राखेर काम गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव छ । “हाम्रो उद्देश्य आयोजनासँग सम्बन्धित मुद्दा जित्ने भन्ने हुँदै होइन”, उहाँले भन्नुभयो, “त्यो आयोजनाबाट प्राप्त हुने प्रतिफल हाम्रो उद्देश्य हो । ” बैठकमा प्रधानमन्त्रीले आयोजनाहरूको अनुगमन र निरीक्षणको काम योजना आयोगबाट मात्र नभई सम्बन्धित मन्त्रालयबाट पनि नियमित रूपमा गर्न निर्देशन दिनुभयो ।

सङ्घीय संरचनाको अभ्यासमा नेपालले छोटो समयमै सफलता हासिल गरेकाले आर्थिक वृद्धिको आधार पनि बनेको प्रधानमन्त्रीको भनाइ थियो । “नयाँ संरचनामा जाँदा पनि हामीले यसका प्रक्रिया अन्य मुलुकका तुलनामा छिटै सकेकाले यसमा हामी सफल छौँ”, उहाँले भन्नुभयो । नयाँ संरचनामा परिणत हुँदा कतिपय कुरा तयारी अवस्थामै जस्तो नहुने भएकाले बाँकी रहेका काम विस्तारै मिल्दै जानेसमेत उहाँले बताउनुभयो ।

गत वर्ष सङ्घीयता कार्यान्वयन र नयाँ कानुन निर्माणमा केन्द्रित हुँदा पनि सात प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर हासिल भएकोमा अहिलेको परिस्थितिमा आगामी आर्थिक वर्षमा ८।५ प्रतिशत वृद्धिदर हासिल गर्ने आधार तयार भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);