काठमाडौं, २ असार । नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले अर्थमन्त्रालयको महाशाखा जसरी उद्योग तथा आपुर्ति मन्त्रालयको बजेट विनियोजन गरिएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले औद्योगिक विकास गर्ने भनिएपनि सोही अनुसार मन्त्रालयमा बजेट विनियोजन हुन नसकेको बताउनुभएको हो । उद्योगको समस्याको समाधान दिन सक्ने हैसियत उद्योग मन्त्रालयले बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो “उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखा भन्दा अलि माथि उठ्न सक्नु पर्यो । उद्योगको समस्याको समाधान दिन सक्ने हैसियत उद्योग मन्त्रालयले बनाउन सक्नुपर्यो ।”
औद्योगिक वातावरण बनेमा लगानीको समस्या नहुने भन्दै उहाँले सिमेन्ट उद्योग र सिमेण्ट उत्पादनलाई हेरेर मन्त्रालयले योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले विभिन्न विशेष आर्थिक क्षेत्रको घोषणा गरेपनि लगानीका लागि उद्योगीहरु त्यस क्षेत्रमा नगएको भन्दै उहाँले पुर्वाधार निर्माण गरि औद्योगिक वातावरण बनाउने विषयलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभयो ।
व्यापार घाटा ९७ बाट ३ प्रतिशतमा झर्ने स्थिति श्रृजना भईसकेको भन्दै उहाँले व्यापार घाटा कम गर्न आयात घटाउने वा निर्यात बढाउने योजना केन्द्रीत हुन सुझाव दिनुभयो ।
पेट्रोलियम पदार्थमा नेपाल आयल निगमको एकाधिकार रोकिनुपर्ने र प्रतिष्पर्धात्मक माध्यमबाट अरुलाई पनि पेट्रोल आयात गर्ने अनुमति दिने चर्चा बर्षौदेखि चलेपनि कार्यान्वयन हुन नसकेको भन्दै उहाँले अर्थतन्त्रको विकासका लागि एकाधिकार तोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कयौचोटी ती योजनाहरु बने, विधेयक बने तर ती योजना सदनमा नपस्दै तुहिन्छन् । कसकसको इन्ट्रेस्टले काम गर्छ मलाई थाहा छैन। ”
उहाँले प्रतिष्पर्धा गर्नबाट कुनै पनि निकायलाई रोक्नु वा एउटै निकायलाई एकाधिकार दिईरहनु आर्थिक विकासको सबै भन्दा ठुलो कारक तत्व भएको दाबी गर्नुभयो ।
मुलुकमा आर्थिक गतिविधि बढाउनका लागि विदेशस्थित नेपाली दुतावासले ठूलो भुमिका निर्वाह गर्न सक्ने भएपनि अहिलेसम्म त्यस्तो वातावरण मिलाउन नसकेको भन्दै त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।