काठमाडौं, ३० जेठ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको बताउनु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले बिहीबार संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोक सेवा आयोगले सो विज्ञापन खुलाएको प्रतिक्रिया दिनु भएको हो ।
मन्त्री बास्कोटाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई सेवा दिनुपर्ने सरकारको अप्ठ्यारो नबुझि सोसम्बन्धमा निर्देशन दिएको पनि उल्लेख गर्नु भयो । ‘संसदले सरकारको अप्ठयारो के छ भनेर बुझनु पर्ने होइन र ?’ मन्त्री बास्कोटाले थप्नु भयो, ‘अप्ठयारो पारेपनि सरकारले जनताको सेवा दिनका लागि पनि स्थानीय तहको माग बमोजिम कर्मचारी त दिनुपर्ला नि ।’
मन्त्री बास्कोटाले संसदीय समितिले करारमा कर्मचारी नियुक्ती गर्न दिएको निर्देशन माथि पनि प्रश्न उठने पनि स्पष्ट पार्नु भयो । ‘पोलिटिकल टाईपबाट सालासाली, भदाभदैं नियुक्ती गरियो’ भनेर प्रश्न उठाउने गरेको पनि मन्त्री बास्कोटाले स्मरण गराउनु भयो ।
मन्त्री बास्कोटाले गुठी सम्बन्धि विधेयकमा देखिएको समस्या सरोकारवाला निकायसँग छलफल गरेर टुंगो लगाउने पनि बताउनु भयो । सरकार मुलुकको संस्कृतिको संरक्षण गरेर अघि बढ्न प्रतिवद्ध रहेको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकमा पनि सरोकारवालाको जायज माग सम्बोधन गर्न सकिने बताउनु भयो ।