अमेरिकी जनता अब क्युबा जान नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अमेरिकी जनता अब क्युबा जान नपाउने

cuba-and-us-banned

काठमाडौं, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले अमेरिकी नागरिकलाई अबदेखि क्युबा भ्रमण जान नपाउने गरी मंगलबारदेखि प्रतिबन्ध लगाएको छ। अमेरिकी अर्थ विभागले एक विशेष सूचना जारी गर्दै अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज (पानीजहाज) र निजी डुंगाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जानकारी दिएको छ।

यस प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमा निकै नराम्रो असर पुग्ने अनुमान गरिएको छ। सन् २०१९ को पहिलो चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्ने गरी खर्च गरिएको अनुसन्धानबाट देखिएको जनाएको छ।

क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाउने तथा यसबाट मानवीय संकट सिर्जना भएको अमेरिकी दाबी रहेको छ। तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको शासनकालमा अमेरिका र क्युबाबीच रहेको लामो समयको कटुता अन्त्य भएको हो। त्यसै क्रममा अमेरिकाले क्युबामा पुनः दूतावास खोलेर कुटनीतिक समबन्ध सुचारु गरेको थियो।

ओबामाको पहलमा भएको यस सकारात्मक कुटनीतिक नीतिको अन्तर्राष्ट्रिय जगत्ले खुलेर प्रशंसा गरेको थियो।

यसैबीच प्रतिबन्ध कदमसँगै क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट अमेरिकाले रोक्ने हरसम्भव प्रयास गर्ने अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताएका छन्।
तर, क्युबाली सरकारले अमेरिकी कदमको कडा शब्दमा आलोचना गरेको छ। क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्वीट गर्दै अमेरिकी कदम पुनः असफल हुने दाबी गरेका छन्। ओबामाको शासनकालमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो।

सन् २०१४ मा अमेरिका र क्युबाबीचको कुटनीतिक सम्बन्ध भएपछि पाँच दशकदेखि जारी रहेको अमेरिकी आर्थिक नाकाबन्दी केही हदसम्म खुकुलो भएको थियो। तर, अमेरिकी सरकारले लगाएका कतिपय अन्य प्रतिबन्धका कारण पूर्णरूपमा व्यापार सहजीकरण भने हुन सकेको थिएन। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);