कतारमा नेपालीको औसत बचत ११ हजार १ सय ९१ रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कतारमा नेपालीको औसत बचत ११ हजार १ सय ९१ रुपैयाँ

qatar salary bachat

काठमाडौं, २० जेठ । सबैभन्दा धेरै नेपाली कामदार रहेको कतारबाट एकजना कामदारले प्रतिमहिना औसतमा ११ हजार १ सय ९१ दशमलव २७ रुपैयाँ रेमिट्यान्स स्वदेश पठाउँछ ।  करिब ६ लाखको संख्यामा नेपाली कामदार रहेको कतारबाट गत आर्थिक वर्षमा ७९ अर्ब ८६ करोड ८ लाख रुपैयाँ स्वदेश भित्रिएको थियो ।

कतारमा मात्रै नभएर खाडी मलेसिया क्षेत्रमा गएका कामदारले पठाउने औसत रेमिट्यान्समा खासै अन्तर छैन । गत आर्थिक वर्षमा प्रतिकामदार मासिक रूपमा कुबेतबाट १५ हजार १४३ दशमलव ६८ रुपैयाँ, मलेसियाबाट १७ हजार ४१२ दशमलव ६२ रुपैयाँ, युएईबाट १७ हजार ६७३ दशमलव ५२ रुपैयाँ र साउदीबाट १९ हजार ५२५ दशमलव ६१ रुपैयाँ नेपाल भित्रिएको छ । यद्यपि बहराइनबाट भित्रिने प्रतिव्यक्ति रेमिट्यान्स भने उच्च छ ।

२२ हजार ७ सय ९९ जना नेपाली कामदार रहेको बहराइनबाट गत आर्थिक वर्ष प्रतिश्रमिक ६९ हजार ५५४ दशमलव ७ रुपैयाँका दरले १९ अर्ब २ करोड ९३ लाख ३० हजार रुपैयाँ नेपाल भित्रिएको थियो । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकी निर्देशक सरिता अधिकारीले तुलनात्मक रूपमा बहराइनको आम्दानी राम्रो भएकाले प्रतिश्रमिक औसत रेमिट्यान्स उच्च देखिएको बताइन् ।

यद्यपि कुन मुलुकमा कति कामदार छन् भन्ने विषयको यकिन जानकारी सरकारसँग नै छैन । फर्किने कामदारको आँकडा नहुँदा वैदेशिक रोजगारीमा रहेका कामदारको यकिन विवरण तयार हुन नसकेको हो । सरकारले हालसम्म वैदेशिक रोजगारीमा जान लिइएका श्रम स्वीकृतिलाई नै वैदेशिक रोजगारीमा रहेका कामदारको संख्याका रूपमा उल्लेख गर्दै आएको छ । समग्रमा विदेशबाट फर्केका नेपाली नागरिकको तथ्यांक राख्ने गरेको भए पनि अध्यागमन विभागले वैदेशिक रोजगारीबाट फर्किनेहरूको छुट्टै तथ्यांक भने तयार पार्ने गरेको छैन । फर्किएका कामदारको छुट्टै तथ्यांक राख्ने गरी सूचना प्रणाली विकासको काम भइरहेको वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । ‘अबको १५–२० दिनमा सिस्टम तयार गरिसक्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने, ‘त्यसपछि वैदेशिक रोजगारीमा जाने र फर्किने कामदारको वास्तविक तथ्यांक तयार हुनेछ ।’

केही दिनअघि अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा हाल ४३ लाख ६५ हजार ५ सय १५ जना श्रमिक वैदेशिक रोजगारीमा रहेको उल्लेख छ । पछिल्लो ३ वर्षमा व्यक्तिगत श्रम स्वीकृति, म्यानपावरमार्फत पुनः स्वीकृति र वैधानिकीकरण गरी वैदेशिक रोजगारीमा गएका कामदारको संख्यालाई आधार मान्दा कतारमा ५ लाख ९४ हजार ६ सय ६६, साउदीमा ३ लाख ९४ हजार ३ सय १०, मलेसियामा ३ लाख ३४ हजार १ सय ९ कामदार कार्यरत रहेको देखिन्छ । यस्तै, युएईमा ३ लाख २८ हजार १ सय २, बहराइनमा २२ हजार ७ सय ९९ र कुबेतमा ७७ हजार ७७ जना छन् । खाडी तथा मलेसिया क्षेत्रका मुलुकहरूमा रहेका कामदारको संख्या र उनीहरूले गत आर्थिक वर्षमा पठाएको रेमिट्यान्सका आधारमा एकजना कामदारले पठाउने औसत रेमिट्यान्स निकालिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);