दैनिक ६ घण्टा हिँडेर पढाइ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

दैनिक ६ घण्टा हिँडेर पढाइ

school student

हेटौंडा, १९ जेठ । बिहान उठनेबित्तिकै उनी आँखा मिच्दै हतारहतारमा स्कुल जाने पोसाक लगाउँछिन् । झोलामा किताबकापी पनि ठीक पार्छिन् । बेलुका पकाएर राखेको ढिँडो होस् वा गिठ्ठा–भ्याकुर तताएर छिटोछिटो खाएर ननिस्के स्कुल पुग्न अबेर हुन्छ । सुशीला चेपाङ र छिमेकी उषा भ्लोन यसरी बिहान ७ बजे नै झोला बोकेर स्कुलतिर लाग्छन् ।

स्कुल नजिक नभएका कारणले उनीहरू बिहानै हिँड्न बाध्य छन् । बेलुका पनि उनीहरू अँध्यारो भएपछि मात्र घर आइपुग्छन् । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ६ शिलाधुनीका विद्यार्थीलाई विद्यालय टाढा हुनुले सधैं आउजाउमा ६ घण्टा लाग्छ ।

साविकको काँकडा गाविसको कार्यालय रहेको शिलाधुनीबाट ९ र १० कक्षामा पढ्नका लागि उक्त गाउँपालिकाको सिलिङेमा रहेको राष्ट्रिय माविमा आउनुपर्छ । ८ कक्षासम्म पढ्न शिलाधुनीअर्थात् जुरेथुममा नै स्कुल छ । ९ र १० कक्षा पढ्न उक्त वडाकै सिलिङेस्थित माविमा आउनुपर्ने बाध्यता छ ।

उक्त स्कुलभन्दा नजिक अरु विद्यालय पनि छैनन् । ‘दैनिक ६ घण्टा आउजाउ गरेर शिलाधुनीका विद्यार्थीहरू यहाँ पढ्न आउने गरेका छन्,’ सिलिङेस्थित माविका प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘यो स्कुलमा पढ्न आउने छात्राछात्राहरू दैनिक ६ र ७ हिँड्छन, यो उनीहरूको बाध्यता हो ।’

शिलाधुनीबाट मात्र ३० जनाभन्दा बढी विद्यार्थी दैनिक ६ घण्टा पैदल आउजाउ गर्छन् । ‘दैनिक ६ घण्टा हिँड्नुपरेका कारणले गर्दा उनीहरूले होमवर्क गर्नसमेत भ्याउँदैनन्,’ प्रधानाध्यापक दुवाडीेले भने । पुस र माघका छोटा दिनमा चाँडै नै अँध्यारो हुन्छ । त्यस्ता बेला टाढाका विद्यार्थी अन्तिम पिरियड नपढी नै घरतर्फ जाने गर्छन् ।