काठमाडौं, १८ जेठ । प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैँ देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए ।
शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।
‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले ‘यो कुनै गोप्य दस्तावेज होइन’ भने ।
‘उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो,’ उनले भने । अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकीकरण क्रममा आलोपालो सरकार चलाउने सहमति भएको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।
अघिल्लो वर्ष जेठ २ मा ओली र दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको चौथो बुँदामा दुवै अध्यक्षले समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप सरकारको नेतृत्व गर्ने उल्लेख छ । ओलीले आफू र अध्यक्ष दाहालबीच कुनै असमझदारी नभएको समेत दाबी गरे ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।