खोटाङ, १५ जेठ । निश्चित भाडादर निर्धारण नहुँदा खोटाङमा साना सवारी अटो रिक्साहरुले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । रिर्जभमा मात्रै कुद्ने अटोलाई हालसम्म सम्बन्धित निकायले भाडादर नतोक्दा यात्रुबाट मनपरी भाडा लिने गरेका हुन् । त्यसवाट यात्रुहरु हैरानी खेप्न बाध्य छन् ।
दर्ता नभई चलेका अटोले मान्छे अनुसार भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरिरहेका छन् । दिक्तेल–हलेसी सडक खण्डमा चलिरहेका अटोका लागि निश्चित भाडादर नहुंदा यात्रु ठगिएसँगै राज्यलाई तिर्नुपर्ने कर समेत तिरेको नदेखिएको एकजना व्यवसायीले बताए । अटोले दिक्तेल, नेर्पा, बाम्राङ, मुढे, नुनथलामा सवैभन्दा धेरै भाडा लिने गरेको देखिन्छ । पक्की सडकमै करीव प्रति किलोमिटर सय रुपैयाँ भन्दा बढीका दरले भाडा असुल्ने गरेका छन् ।
केही अटोले रुट इजाजत पत्र लिएको र केही अटोहरु त्यतिकै चलिरहेको खोटाङका ट्राफिक प्रहरी ईन्चार्ज नरेन्द्र पौडेलले बताए । केहीका रुट इजाजतपत्र त छन् तर, भाडामा भने मनपरी छ । उनले भने, ‘प्रशासनबाट भाडा तोकिएको छैन ।’ दिक्तेलमा अटो चलिरहेको भन्ने सूचना आफूलाई थाहा नभएको र अन्य सवारी साधनको जस्तै गरेर यसको पनि भाडादर निर्धारण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । अटोले रुट इजाजतपत्र लिनु पर्छ÷पर्दैन भन्ने यातायात व्यवस्था विभागमा बुझेर अटो व्यवसायीको मनपरीतन्त्रलाई तत्काल नियमन गरिने प्रजिअको भनाई छ ।
दिक्तेलमा अटो चलेको महिनौ बित्दा समेत प्रशासनलाई थाहा नहुंदा यात्रुहरुले महंगो भाडा तिरेर यात्रा गर्नु परीरहेकोे छ । प्रशासनले अटो सञ्चालनमा कडाई नगर्दा अटो व्यवसायीले मनपरी भाडा असुल्ने मौका पाएका हुन् । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखिएको छ ।