डाँडागाउँको घरबासमा भियतनामी पर्यटक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

डाँडागाउँको घरबासमा भियतनामी पर्यटक

paryatak

काठमाडौं, १२ जेठ । काठमाडौंको नागार्जुनमा १ सयभन्दा बढी धार्मिक पर्यटक होमस्टे (घरबास) का लागि आएका छन् । एक महिनाभन्दा बढी समयका लागि १ सय १५ जना भियतनामी पर्यटक नागार्जुनको डाँडागाउँका पाहुना भएका हुन् ।

डाँडागाउँस्थित ह्वाइट गुम्बामा हुने विशेष पूजा र अन्य धार्मिक कक्षामा सहभागी हुन आएका भियतनामीले बसोबासका लागि होमस्टे रोजपछि सो भेगमा चहल–पहल बाक्लिएको छ । विशेष पूजासँगै गुम्बाका गुरु ल्यावाङ दोखम्पाले सञ्चालन गर्ने एक महिना लामो जागरण र सशक्तीकरण कक्षामा सहभागी हुन नातिनातिनादेखि बाजेबज्यै उमेरका पाहुना आएका छन् ।

७६ जना गत शुक्रवार आएका हुन् भने अन्य बिहीबारदेखि डाँडागाउँका पाहुना भएका हुन् । यति टाढाका पाहुनालाई घरबासको पहल गरेको हो, नागार्जुन सामुदायिक होमस्टेले । ‘हाम्रै पहलमा एकैपटक यति धेरै पाहुना आउनुभएको छ’, होमस्टेका अध्यक्ष डा. आलोक प्रसाई भन्नुहुन्छ– ‘नेपालको पर्यटन इतिहासमा यति धेरै पर्यटक एक महिना लामो होमस्टे बसाइका लागि आएको यो नै पहिलो उदाहरण हुनुपर्छ ।’

उनीहरु ३५ दिनको कार्यसूचीका साथ नेपाल आएका उहाँले जानकारी दिनुभयो । प्रसाईँका अनुसार बहुसंख्यक युवा र अधबैंशे छन् केही भने १०÷१२ देखि ७५ वर्ष हाराहारीका पनि छन् । उनीहरु डाँडागाँउका ११ घर तामाङ बस्तीका पाहुना भएका छन् । बसोबासका लागि एउटा घरमा अधिकतम २० जनाको समूह छ भने सानो समूह ५ जनाको छ । यी पाहुना बिहानको नित्यकर्म पूरा गरी चियानास्ता होमस्टेमै लिन्छन् भने ८ बजेपछि गुम्बा प्रस्थान गर्छन् । बेलुकी ५ बजेका हाराहारीमा पाहुनाघर फर्कन्छन् ।

दूध, सागपातसहित अन्य स्थानीय उत्पादन पाहुनालाई खुवाउने गरिएको बताउँदै अध्यक्ष प्रसाईँले भन्नुभयो– ‘समूहको आयआर्जन बढाउन स्थानीय उत्पादलाई जोड दिइएको हो ।’ नागार्जुन–६ स्थित डाँडागाउँमा ६ महिनायता ११ वटाघरमा होमस्टे सञ्चालनमा आएको हो । सीतापाइला चोकदेखि ३ किमि दूरीमा रहेको सो भेगमा सामुदायिक होमस्टे सञ्चालनका लागि तारा गाउँ विकास समितिले डेढ अघिदेखि सम्भाव्यता अध्ययन गर्दै आएको थियो ।

२ वर्षयता विभिन्न चरणमा अनुशिक्षण र यसबारेको विविध तालिमपश्चात होमस्टे सञ्चालनमा आएको सचिव वसन्त तामाङले जानकारी दिनुभयो । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, आसपासका सामुदायिक वन र निजी वनको समीपमा रहेको होमस्टे विदेशीका लागि स्मरणीय बन्ने र आगामी दिनमा पर्यटकीय गतिविधि बढ्ने उहाँको विश्वास छ । अहिले आएका भियतनामी पर्यटकलाई ह्वाइट गुम्बामा हुने पूजा, जामाचो, स्वयम्भूलगायत अन्य धार्मिक क्षेत्र घुमाउन होमस्टेले सहजीकरण गर्नेछ ।

आगामी जुन ५को विश्व वातावरण दिवसका दिन स्वयम्भू घुमाउने तालिका तय भएको छ भने नागार्जुनको उचाइमा रहेको जामाचोमा हाइकिङ गराउने तयारी पनि भइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);