काठमाडौं, १० जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताउनुभएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति बनाउने काम भएको बताउनुभएको हो ।
आयोगको प्रतिवेदनका आधारमा बनाईएको राष्ट्रिय शिक्षा नीति मन्त्रीपरिषद्मा पेस भईसकेको भन्दै उहाँले छलफल पनि छिट्टै टुंगोमा पुर्याउने दाबी गर्नुभयो । राष्ट्रिय शिक्षा नीति पास भएपछि सोही आधारमा विद्यालय र प्राविधिक शिक्षासंग सम्बन्धति र उच्च शिक्षा संग सम्बन्धीत् दुई विधेयक ल्याउने तयारीमा मन्त्रालय लागेको स्पष्ट पार्नुभयो ।
उहाँले संघीय संचरचना अनुसार नै शिक्षाका सम्पुर्ण कार्यालयहरुलाई पुर्न संरचना गरिएको, बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको स्पष्ट पार्नुभयो ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि आफुले मन्त्रीपरिषद् बैठकमा प्रस्ताव गरेको भन्दै उहाँले बैठकको निर्णय अनुसार नै प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
संविधानको धारा ५१ अन्तर्गत व्यवस्था गरिएका शिक्षा सम्बन्धी नीती र सो को कार्यान्वनय सम्बन्धमा भएका कामकारवाही बारे जानकारी लिन समितिले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेललाई समितिमा बोलाएको हो ।





