काठमाडौं, ७ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए-नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको उल्लेख गर्नुभयोे ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्व बढि भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले आरोप प्रमाणित गरेर देखाउन चेतावनी दिनुभयो ।
समितिका सदस्य एवम् सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भयो ।सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गर्नु भयो ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् ।