प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने

sarbajanika bida

काठमाडौं, ४ जेठ । प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि विभिन्न प्रदेशस्तरको चाडवाडमा प्रदेश सरकारले बिदा घोषणा गर्दा सरकारको कार्यालय बिदा भएको थिएन । बिदा नहुँदा अन्योल उत्पन्न भएपछि गृह मन्त्रालयले प्रदेश स्तरमा ६ दिन बिदा दिँदा सरकारको कार्यालयसमेत बिदा दिने निर्णय भएको हो ।

राजपत्रको सूचनामा आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा गृह मन्त्रालयको निर्णयअनुसार हुने उल्लेख छ । प्रदेश सरकारले बढीमा ६ दिन बिदा दिने निर्णय गरेतापनि उपत्यकाका काठमाडांै, भक्तपुर र ललितपुरका सरकारका कार्यालयको हकमा सो बिदा लागु हुनेछैन । तीन जिल्लाको बिदाको व्यवस्था गृह मन्त्रालयको निर्णयबमोजिम हुने राजपत्रमा उल्लेख छ ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।