अध्ययन प्रतिवेदन भन्छ : सबै विमान खरिदमा त्रुटि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अध्ययन प्रतिवेदन भन्छ : सबै विमान खरिदमा त्रुटि

biman

काठमाडौं, २८ बैशाख । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो ।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चारवटै एयरबस (दुइटा ए३२० र दुइटा ए३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले कान्तिपुरलाई बताए । समिति सभापति पवित्रा निरौलालाई बुधबार बुझाइएको प्रतिवेदनमा निगमले २०७१ मा खरिद गरेका दुइटा एयरबस ए३२० (न्यारोबडी) विमान परल मूल्यभन्दा डेढ अर्ब रुपैयाँ बढी तिरेको उल्लेख छ ।

‘एउटा न्यारोबडीको मूल्य ३९.५ मिलियन डलर (त्यसबेलाको सटही दरअनुसार ४ अर्ब हाराहारी) थियो । तर ४८.५ मिलियन डलर (४ अर्ब ८५ करोड हाराहारी) मा खरिद गरिएको देखिन्छ,’ सांसद राजभण्डारीले भने । त्यसताका निगमको नेतृत्वमा रहेका महाप्रबन्धक मदन खरेलले कर्मचारी सञ्चय कोषबाट १० अर्ब रुपैयाँ ऋण लिई दुइटा न्यारोबडी खरिद गरेका थिए । हाल खरेल निगमको कार्यकारी अध्यक्ष छन् ।

वाइडबडी भने महाप्रबन्धक सुगतरत्न कंसाकारको कार्यकालमा ल्याइएको थियो । कंसाकारको कार्यकाल आगामी जेठमा सकिँदै छ । ‘न्यारोबडी जहाज खरिद गर्नुपूर्व पेस गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन र खरिदपछिको व्यवस्थापकीय कार्य, बजार व्यवस्थापन एवं सञ्चालन र मर्मतसम्भारको व्यवस्था हेर्दा हतार–हतारमा जसरी भए पनि खरिद गर्ने भन्ने मनसायले अभिप्रेरित भएजस्तो देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);