वडा कार्यालय पुग्‍नै ३ दिन ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

वडा कार्यालय पुग्‍नै ३ दिन !

wada pugna 3 din

लापा (धादिङ), २८ बैशाख ।  ‘राणाको शासन गयो। राजाको शासन गयो। गणतन्त्र आयो। हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–५ नेवेरगाउँका (साबिक लापा गाविस–३) नोर्सिङ लामाको। नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएका विभिन्न राजनीतिक परिवर्तनपछिका चुनावमा एक दिन पैदल हिँडेर पनि मतदान गरे।

उनीहरूलाई गाउँमा विकास, परिवर्तन र सुखसुविधाको तीव्र आस थियो। तर विकास निर्माण त परको कुरा, वडा कार्यालयको सामान्य सेवा लिन पनि तीन दिन लाग्ने भएपछि नेवेरबासी सधंै सास्ती खेप्न बाध्य छन्। नेवेरबासीको मतदान केन्द्र पनि उही वडा कार्यालय भएका कारण जहिले पनि चुनावका बेला मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आसपासका गाउँमा गएर बस्नुपर्छ।

नयाँ संविधानले व्यवस्था गरेअनुसार स्थानीय तह पुनर्संरचना गर्दा वडा विभाजन व्यवस्थित बनाउन नसक्दा साबिकको लापा गाविसको तीर र नेवेर गाउँका स्थानीय वडा कार्यालयबाट प्रदान गर्ने सामान्य सेवा लिन दुईदेखि तीन दिनसम्म पैदल यात्रा गर्न बाध्य छन्। ‘युवा त जसोतसो एक दिन र अर्को आधा दिनमा काम सकेर गाउँ फर्किन सक्लान्’, नेवेरका उर्गेन लामाले भने, ‘वृद्धवृद्धा भने भत्ता, जेष्ठ नागरिक परिचयपत्रलगायत अन्य सिफारिस लिन वडा कार्यालय पुगेर घर फर्किंदा तीन दिन बित्छ।’

पञ्चायतकालमा गरिएको वडा विभाजन सुधार स्थानीय सरकारले पनि गर्न नसक्दा जनताले सास्ती खेप्दै आएका छन्। गाउँबाट वडा कार्यालयसम्म पुग्न तीनवटा खोला र दुईवटा पहाड छिचोल्नुपर्छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

पछिल्लो समाचार