अपांग भनेर भर्ना अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

अपांग भनेर भर्ना अस्वीकार

apanga bhanera bharna

कास्की,  २८ बैशाख ।  उनी दुवै खुट्टा टेक्न सक्दैनन् । अरूको सहारामा हिँड्नुपर्छ । नभए ह्विलचियरमा हिँड्छन् । शरीर भने हृष्टपुष्ट छ । बोली प्रस्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन । ६ वर्षीय यी रविन परियारलाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापाले भने, ‘हामी जिम्मा लिन सक्दैनौं, घरमै पढाउनू ।’

रविन नर्सरी पास गरेर एलकेजीमा पुगेपछि अभिभावकले भर्नाका लागि छोरेपाटन मावि पुर्‍याएका थिए । शिक्षक भने सुरक्षाका कारण देखाउँदै जिम्मा लिन नसक्ने भन्दै टकटकिए । ‘छोरो पढाइदिनका लागि बारम्बार स्कुल धाएको छु । स्कुलले भने घरमै राखेर पढाउन भनेको छ,’ रविनका बाबु कुमारले भने, ‘छोरो स्कुलै गएर पढ्छु भन्छ । विद्यालयले जिम्मा लिन सक्दिनँ भनेको छ । पढाइबाट वञ्चित हुने त होइन भन्ने पीर लागेको छ ।’ उनी छोरा पढाइदिन अनुरोध गर्दै ६ पटकसम्म स्कुल धाइसकेका छन् । कुमारका अनुसार त्यसक्रममा एक शिक्षिकाले रविनको नाम लिनासाथ ‘समस्या हाम्रो हैन तपाईँको हो, अब यहाँ हुँदैहुँदैन’ भनेर फर्काइन् ।

रविनकी दिदी रविना पनि त्यही विद्यालयमा कक्षा ८ मा पढ्छिन् । त्यही भएर रविनलाई छोरेपाटनमै पढाउन चाहन्छन् अभिभावक । रविनले ‘दिदी म कहिलेदेखि स्कुल जाने हो, सोधेर आउनुस् है भनेर दिनहुँ पिरिरहने’ गरेको कुमारले बताए । ‘दिदी विद्यालयबाट आउनासाथ सरले मलाई स्कुल बोलाउनुभएको छ कि छैन भनेर सोध्छ,’ उनले भने, ‘रविना भाइको प्रश्नको उत्तर दिन सक्दिनन् । अक्क न बक्क हुन्छिन् ।’ रविनले ‘सबै साथीहरूले कति धेरै पढिसकेहोला म कहिले जाने ?’ भन्दै दिनहुँ सोध्ने गरेको उनले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।