काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी सरकारले मिडिया ऐन ल्याएको बताउनु भएको छ ।
प्रेस युनियन नुवाकोटले शुक्रबार कांग्रेस पार्टी कार्यालय बिदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री डाक्टर महतले समाचार लेखेकै आधारमा पत्रकारलाई लामो समय जेल हाल्ने र जरिबाना स्वरुप लाखौं रुपैयाँ तिराउने सरकारको नीति गलत रहेको धारणा ब्यक्त गर्नु भयो ।
डा. महतले आफ्नो पार्टीलाई बद्नाम गराउन वर्तमान सरकारले सामाजिक सञ्जालहरुमा कपोकल्पित भ्रम सिर्जना गरिरहेको आरोप समेत लगाउनु भएको छ । उहाँले नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन अब केन्द्रिय नेतादेखि स्थानीय कार्यकर्तासम्म एकढिक्का हुन आबश्यक रहेको बताउनु भयो ।