काठमाडौं, २६ बैशाख । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले निहु खोज्ने काम गरिरहेको आरोप लगाउनु भएको छ ।
मन्त्री बास्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्ने काँग्रेसले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बहसको विषय बनाउन नमिल्ने तर्क पनि गर्नु भयो ।
बिहीबार मन्त्रीपरिषद बैठकका निर्णय सुनाउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले जय नेपाल महेन्द्रले २०१७ सालमा प्रयोग गरेको उल्लेख गर्दै त्यसलाई किन काँग्रेसले नछाडेको ? भनि प्रश्न पनि गर्नु भयो ।
उहाँले विपी चीनमा जाँदा ‘मेरो सरकार’, ‘मेरो देश’ भनेको स्मरण गराउँदै साना शब्दलाई समातेर सरकारसँग निहुँ नखोज्न पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गर्नु भयो । ‘यो सबैको सरकारको हो’, संचारमन्त्री बास्कोटाको स्पष्टिकरण थियो, ‘तपाईको पनि सरकार हो, मेरो पनि सरकार हो, राष्ट्रपतिको पनि सरकार हो ।’
मन्त्री बास्कोटाले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच वाद, विवाद र प्रतिवाद हुने कुरालाई सामान्य रुपमा लिन पनि संचारकर्मीहरुलाई आग्रह गर्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष काँग्रेससँगको सम्बन्ध नबिग्रिएको र अव बस्ने संसद बैठक विना अवरोध अघि बढ्ने विश्वास पनि व्यक्त गर्नु भयो ।