प्रशासनले गाउँमै पुगेर नागरिकता दिएपछि स्थानीय हर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रशासनले गाउँमै पुगेर नागरिकता दिएपछि स्थानीय हर्षित

ललित सिंह
बझाङ, २५ बैशाख । पुस्तौंसम्म नागरिकता नलिएका बझाङ जिल्लाको विकट ठाउँ साईपाल गाउँपालिकाका स्थानीहरु अहिले नागरिकता बनाउन थालेका छन् । आठ दिन हिंड्नु पर्ने स्थानीयहरुलाई जिल्ला प्रशासन कार्यालयले गाउँमै गई नागरिकता वितरण थालेपछि यतिबेला साईपाल गाउँवासी हर्षित छन् ।

पछिल्लो समय नागरिकता फेरी जल्दोबल्दो विषय बनेको छ । जन्मको आधारमा नागरिकता, बशंजको आधारमा नागरिकता, तराईका जिल्लाहरुमा नागरिकता लिनेहरुको भिड आदि इत्यादि । यस्तै सुदूरपश्चिमको वझाङ जिल्लाको विकटमा रहेको साईपाल गाउँपालिकामा पनि अहिले नागरिकताको विषय उठेको छ । तर फरक तरिकाले ।

साईपाल गाउँपालिकाका अधिकाँश नागरिकले नागरिकता बनाएका छैनन् । यातायात, सञ्चार र विजुलीबाट बञ्चित साईपाल गाउँपालिकाबाट सदरमुकाम चैनपुर पुग्न चार दिन र फर्किन चार दिन लाग्दछ । त्यसैले त्यहाँका नागरिक अत्यावश्यक नभएसम्म नागरिकता बनाउन जाँदैनन् । तर, मंगलबार भने त्यहाँका स्थानीयहरु हर्षित तथा उत्साहित देखिए । किनकी बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नै नागरिकता वितरणका लागि गाउँपालिका पुगे ।

एकीकृत घुम्ती सेवा शिविरमार्फत् नागरिकता वितरणका लागि गाउँपालिकामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी पुग्नु भएको हो । गाउँमै आएर नागरिकता वितरण गर्न आउँदा स्थानीयहरु हर्षित छन् । व्यवसायिक रुपमा भेडा खच्चड, जडीवुटी तथा यार्चा सँकलन गरी विक्री गरी जिवनयापन गर्दै आएका साइपाल गाउँपालिका धलौन, काँडा र धुलीका मानिसहरुले बढी जसो नागरिकता नभएर नै सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित छन् ।

नागरिकता नभएकाले बृद्ध भत्ता लिनबाट बञ्चित आफ्नी ९१ बर्षीय आमाले अब नागरिकता पाएपछि बृद्धभत्ता पाउने भयो भनेर विश्वस्त भएका छन् स्थानीय धनबहादुर बोहरा । भौगोलिक विकटता भएको साइपाल गाउंँपालिकाका बासिन्दाहरुको सहजताका लागि नागरिकता वितरण लगायत स्वास्वथ्य सेवा पनि प्रदान गर्न शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनु भयो ।

गाउँपालिकाका स्थानीयहरुको कठिनाईलाई बुझेर आफै गाउँपालिकामा नागरिकता वितरणका लागि शिविरमा पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो । गाउँपालिकामा पुग्ने सुरेश सुनार पहिलो प्रमुख जिल्ला अधिकारी हुन् । जिल्ला अधिकारी नै पुगेर नागरिकता वितरण गरेपछि स्थानीयहरु निकै हर्षित भएका छन् । शिविरमा नागरिकता वितरण लगायत स्थास्थ्य सेवा पनि प्रदान गरिएको थियो । यस्तो कार्यक्रमहरु बेलाबेलामा अन्य विकट स्थानहरुमा पनि हुन सके मात्र सायद सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने प्रयासले सार्थकता पाउँछ कि ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);