चिया श्रमिकहरुको आन्दोलन ३८ दिन पुग्योे, सरकार अझै मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिया श्रमिकहरुको आन्दोलन ३८ दिन पुग्योे, सरकार अझै मौन

chiya sramik

पुजन घिमिरे

झापा, २५ बैशाख । पूर्वका चिया श्रमिकहरु आन्दोलनमा उत्रिएको एक महिना भन्दा बढी भइसकेको छ । श्रम ऐन अनुसार ज्याला पाउनु पर्ने माग गरिरहेका उनीहरुको आवाज न सरकारले सुनेको छ, न चिया बगान र उद्योगका मालिकहरुले नै । माग सम्बोधन नभएपछि चिया श्रमिकहरु अहिले आन्दोलनमा छन् ।

सरकारले तोकेको ज्याला नपाएको भन्दै पूर्वका चिया मजदुर लामो समयदेखि आन्दोलित छन् । गत चैत १७ गतेदेखि चिया बगान, उद्योग तथा प्रतिष्ठानको काम छोडेर चरणबद्ध आन्दोलनमा उत्रिएको ३८ दिन बितिसक्दा समेत उनीहरुको माग सम्बोधन भएको छैन । चिया मजदुरहरु आफ्नो मागलाई सम्बोधन गराउन विभिन्न दवावमूलक आन्दोलनहरु गर्दै आएका छन् ।

झापामा करिब २६ चिया प्रशोधन उद्योग र ७० भन्दा बढीको संख्यामा बगान छन् । बगानमा करिब ३६ हजारको हाराहारीमा चिया श्रमिक काम गर्छन् । यी बगानका श्रमिकहरू काम नै ठप्प पारेर अहिले आन्दोलनमा होमिएका छन् ।

सरकारले गत साउन १ देखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोके पनि श्रमिकले दुई सय ६५ रुपैयाँ मात्र पाउँदै आएका छन् । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार ४ सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार तीन सय ८१ रुपैयाँ तोकिएको छ । तर, कुनै प्रावधान पनि कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा नल्याएकोले विभिन्न चरणका आन्दोलनमा उत्रन बाध्य भएको मजदुर नेताहरु बताउँछन् ।

यता, चिया उद्योगी भने चिया क्षेत्रमा उत्पन्न श्रम समस्याको व्यावहारिक समाधान खोज्न सरकार उदासिन भएको जिकिर गर्छन् । सरकारले तोकेको ज्याला दिंदा लागत बढ्ने र व्यवसाय घाटामा जाने भएकाले श्रमिकलाई सरकारले तोके जति ज्याला दिन नसकिने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार मित्तल बताउनुहुन्छ ।

चियाको पहिलो मुना (फस्ट फ्लस) टिप्ने सिजनमा आन्दोलन भएपछि चिया उद्योगमा एक महिनाभित्र ५० करोड बढीको क्षति भइसकेको चिया उद्योगीहरु बताउँछन् । पूर्वको झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका दर्जन जिल्लामा सञ्चालित चिया बगान र कारखानामा ५० हजार भन्दा बढी मजदुरहरु कार्यरत छन् । नेपाल चिया बिकास बोर्डको तथ्याङ्क अनुुसार २८ हजार पाँच सय ९५ हेक्टर क्षेत्रफलमा चियाखेती हुुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);