विवश कुमार सेजुवाल
कालिकोट, २३ बैशाख । कर्णाली प्रदेशको कालीकोटमा पर्ने पचालझरना गाँउपालिकामा खरमुक्त छाना अभियानको सुरुवात गरिएको छ । खडेरीमा हुन सक्ने आगलागी लगायतका प्राकृतिक प्रकोपहरुले निम्त्याउने सम्भावित समस्याहरुलाई ध्यानमा राखी खरमुक्त छाना अभियानको थालनी गरिएको हो ।
आगलागी लगायतका सम्भावित प्राकृतिक विपद्हरुबाट जोगिनका लागि कालीकोटको पचालझरना गाँउपालिकामा खरमुक्त छाना अभियानको शुरु गरिएको छ । गाँउपालिकामा रहेका खरका छानाहरुलाई परिवर्तन गरी टिनले छाउन लागिएको हो । आफ्नो घरमा गाँउपालिकाले टिनको छाना लगाइदिने भएपछि यहाँका स्थानीयहरु पनि उत्साहित भएका छन् । खरको छाना हुँदा एक घरमा लागेको आगोले पुरै गाँउ जलाईदिने समस्याबाट छुट्कारा पाउने भन्दै स्थानीय अहिले खुशी भएका छन् ।
गाँउपालिकामा रहेका घरहरुमध्ये ७५ प्रतिशत घरहरु खरले छाएको गाउँपलिकाले जनाएको छ । गाँउपलिकाको वडा–४ बाट छाना परिवर्तन गर्ने योजना गाँउपालिकाले बनाएको छ । अब टिनको अर्डर गरेर कार्य अगाडि बढाउने गाँउपालिकाका प्रमुख खड्गराज सेजुवालले बताउनु भयो ।
केही महिना अघि मात्र कालिकोटमा आगलागी हुँदा पुरै गाँउ नै जलेर नष्ट भएको थियो । आगलागी हुन नदिन चालिएको यस्तो अभियानले पक्कै पनि प्रभावकारी भुमिका निर्वाह गर्ने देखिन्छ ।




