बैंकहरुले बढाए नाफा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैंकहरुले बढाए नाफा

bank

काठमाडौं, १७ बैशाख । लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ।

बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ। सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तीमध्ये नेपाल बैंकको नाफामात्र घटेको छ। अन्य बाँकी ६ बैंकको नाफा बढेको छ।

चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ। पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले ३४ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो।

नेपाल एसबिआई बैंकले गत वर्षको तुलनामा यस वर्ष २३ करोड रुपैयाँले नाफा बढाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो।

सिद्धार्थ बैंकले एक अर्ब ५९ करोड नाफा कमाएको छ। पोहोर उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा एक अर्ब ३८ करोड  थियो। यसपालिको सिद्धार्थ बैंकको नाफा पोहोरको भन्दा २१ करोड रुपैयाँले बढी हो। सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको चैत मसान्तसम्ममा यसको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो। सानिमा बैंकले पोहोरको तुलनामा ३७ करोडले नाफा बढाएको हो।

माछापुच्छ«े बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब २४ करोड नाफा गरेको छ। गत वर्षभन्दा माछापुच्छ«े बैंकले ३९ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्षको चैत मसान्तमा माछापुच्छ«े बैंकले ८५ करोड मात्र नाफा गरेको थियो।

यसैगरी, सिटिजन्स बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६ करोड नाफा गरेको छ। गत वर्षको सोही अवधिमा यसले एक अर्ब नाफा गरेको थियो। उक्त बैंकले गत वर्षभन्दा ६ करोडले नाफा बढाएको छ। नेपाल बैंकले भने गत आर्थिक वर्षको नौ महिनाभन्दा यस आवको सोही अवधिमा नाफा घटाएको छ। गत वर्ष चैत मसान्तसम्म दुई अर्ब ५६ करोड नाफा गरेको थियो। तर, चालु आवमा उसको नाफामा गत वर्षभन्दा ३२ करोडले कमी आएको छ। चालु आर्थिक वर्षको नौ महिनामा नेपाल बैंकले दुई अर्ब २४ करोड मात्रै नाफा कमाएको छ।

तरलताको अभावले ऋण लगानी गर्ने रकम नभए पनि बैंकको नाफामा त्यसको खासै असर नपरेको बैंकर बताउँछन्। सरकारी ढुकुटीमा रहेको रकम खर्च हुन नसकेकाले तरलता अभाव भएको बैंकर बताउँछन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, गत फागुनसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ३१ अर्ब ९४ करोड (स्थानीय खातामा रहेको ५० अर्ब ९६ करोड समेत) नगद मौज्दात थियो।

लगानीयोग्य रकम अभावको असर बैंकिङ प्रणालीमा नपरेको भए बैंकको नाफा अझै बढ्ने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्री बताउँछन्। तरलताले बैंकिङ क्षेत्रमा कम असर पारेको नेपाल बैंकर्स संघको भनाइ छ। तरलता अभावको असर चैत मसान्तको वित्तीय विवरणमा देखिएको छैन।

कर्जा र निक्षेपको ब्याज दरको अन्तर बढी भएका कारण पनि बैंकको नाफा बढेको विज्ञहरुको भनाइ छ। कर्जा र निक्षेपको ब्याजदरबीच ४.५ प्रतिशत बिन्दुको अन्तर छ। कर्जा ब्याजदरको तुलनामा निक्षेपको ब्याजदर धेरै कम भएकाले पनि बैंकहरुको नाफा बढ्न मद्दत पुगेको विज्ञ बताउँछन्।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

राजनीतिक स्थायित्वसँगै बैंकबाट ऋण लिने बढेका छन्। त्यो अनुसारको निक्षेप संकलन हुन सकेको छैन। नेपाल बैंकर्स संघका अनुसार, वाणिज्य बैंकहरुले वैशाख ६ सम्ममा २७ खर्ब दुई अर्ब निक्षेप संकलन गरेर २४ खर्ब ३९ अर्ब लगानी गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);