तीरैतीर भीरैभीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तीरैतीर भीरैभीर

tiraitir bhiraibhir

गोरखा,  १४ बैशाख । तल बूढीगण्डकी  । माथितिर अग्ला पहाड। भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक। बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ। जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ।

‘कति पटक पर्खाल लगाउने ? हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै चुमनुब्री गाउँपालिका ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘अस्ति भर्खर पर्खाल लगाइरहेका बेला पहिरो खसेर एकजनाको कान च्वाट्टै लग्यो। सबै भागाभाग भए। अब त गाउँले पनि पर्खाल लगाउन आउन मान्दैनन्।’

चुमनुब्री गाउँपालिकाका कुनै पनि वडा सडक सञ्जालले जोडेको छैन। पदमार्ग पनि सुख्खा पहिरो खसिरहेका कारण ज्यादै जोखिम रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। बाटोमा स्थानीयबासी र मनास्लु क्षेत्रमा आउने हजारौं विदेशी पर्यटक असुरक्षित आवतजावत गर्न बाध्य छन्।

गाउँपालिकाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव नरहेको चुमनुब्री ४ का वडा अध्यक्ष पेमा डुण्डुप लामा बताउँछन्। ‘सरकारबाट टाढा भइयो। अरू सेवासुविधा त भएन, बाटो पनि ज्यानको माया मारेर हिँड्नुपर्छ’, उनले भने, ‘गाउँपालिकाको, वडाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव छैन।’ सुख्खा पहिरोले वर्षैपिच्छे स्थानीय तथा विदेशी नागरिकको ज्यान लिने गरेको उनले बताए।

भूकम्पपछि बाटो यतिधेरै जोखिम भएको वडा नं. ७ का वडा अध्यक्ष पासाङफुञ्जो लामा बताउँछन्। ‘भूकम्पले पहरो थर्काइदिएछ, हावा चल्न थालेपछि पहिरो खसिरहन्छ’, उनी भन्छन्, ‘चौंरीखर्क कटेर छेकम्पार पुग्न ज्यानको बाजी लगाउनुपर्छ। पारि जंगलको बाटो सुरक्षित थियो तर बूढीगण्डकीमाथि पुल छैन। कसरी तर्ने ? ’ म्हुगुम्बाभन्दा केही तल सुख्खा पहिरोले हालै एकजनाको ज्यान गएको उनले सुनाए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);