काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गर्नुभएको छ । नेता पूर्णबहादुर खड्काको निवासमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो ।
उहाँले पार्टीलाई एक ढिक्का बनाइ सहमतिपूर्ण ढंगबाट अघि बढाउन साझा संयन्त्र बनाइ पार्टी १५ औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनुपर्ने आफ्नो राय रहेको बताउनुभयो । यस्तो संयन्त्रले सम्पन्न गर्ने अधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व उहाँको भनाइ छ । उहाँले विशेष महाधिवेशनमा पार्टीको एउटा समूह मात्र सहभागी भएको भन्दै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने निर्णयहरु एकपक्षीय भएको टिप्पणी गर्नुभयो ।
गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको थियो । त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो । गत शुक्रबार सर्वोच्च अदालतले थापा पक्षलाई वैधानिकता दिएसँगै १४ औँ महाधिवेशनका पदाधिकारीहरुले छलफल गरिरहेका छन् ।





