प्रकाश नेपाल
पाल्पा, १३ बैशाख । देशभरका पुलहरु समय थप्दा पनि नबनिरहेको स्थितमा पाल्पाको तिनाउँ नदीको पुल भने समय अवधी अगाडी नै सक्ने तयारीका साथ काम भईरहेको छ । ठेकेदारका अनुसार तराईसंग जोडिने सडकको पुल यही असार मशान्तसम्म गाडीनै कुदाउन मिल्ने गरी काम भईरहेको दाबी गरेको हो ।
पाल्पाको महत्वपूर्ण बाँसटारी–झडेवा सडकखण्डको अम्लिहानमा बन्दै गरेको पुलको कामले गति लिएको छ । पुलको माथिल्लो भाग र तल्लो भागमा पाइल फाउण्डेसन बनाएर काम भईरहेको हो । गुणस्तरमा कुनै सम्झाैंता नगरी पुल निर्माणको काम यही असार मसान्त सम्ममा नै सकाउने लक्ष्यका साथ काम भईरहेको इन्जिनियर नबिन जोशीले बताउँछन् ।
अम्लीयान खोलामा बिक्रम सम्बत २०७४ साल असार २४ गते जीप दुर्घटना हुँदा खोलाले बगाएर चार जना यात्रुको मृत्यु भएको थियो । वर्षायाम लागेसँगै सधै त्रासमा जोखिमको यात्रा गर्न बाध्य पाल्पाको तानसेन नगरपालिका–९ मदनपोखरा र माथागढी गाउँपालिकाका स्थानीयले जनता पुल निर्माणले गति लिएसँगै राहतको महशुस गरेका छन् ।
यो पुल एक वर्षमा सक्ने गरी जिल्ला प्राविधिक कार्यालय पाल्पा र एमएस रसुवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडलाई कुल ६ करोड ४३ लाख ७३ हजार रुपैयाँमा सम्झाैंता गरिएको थियो । विश्व बैँकको सहयोगमा एसएनआरटिपी कार्यक्रम अनुसार बाँसटारी–दमकडा–सराई–झडेवा सडकखण्डको तिनाउ नदीको अम्लिहानमा पुल बनाउने सम्झाैंता अनुसार आगामी २०७६ असार मसान्तसम्ममा पुल निर्माणको काम सक्नु पर्ने समय अवधी छ ।
तराईसम्म बाटो जोडिने भएकोले यो पुल महत्वपुर्ण भएको जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले बताए ।
पक्की पुल बने पछि तानसेन नगरपालिकाको ६, ७, र ८ नम्वर वडा सँगै पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका हजारौँ मानिसहरुको असुरक्षित यात्राको अन्त्य हुनेछ । पुल नहुँदा बाँसटारी–सराई–झडेवा सडकखण्डमा पर्ने तिनाउँ नदीमा वर्षात्को समयमा यात्रुहरूलाई आवतजावत गर्न समस्या रहेको थियो ।
निर्माण कम्पनीले बताए झैँ समयमा नै पुल निर्माण कार्य सम्पन्न हुन सकेमा यसले त्यहाँको स्थानीयहरुलाई त सहज बनाउने नै छ यसका साथसाथै अन्य निर्माण कम्पनीहरुलाई पनि समयमा काम सक्नुपर्छ भन्ने दबाव पुग्ने सरोकारवालाहरुको भनाई छ ।