बारा-पर्साका हुरीपीडितलाई साढे पाँच लाख लागतमा घर निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बारा-पर्साका हुरीपीडितलाई साढे पाँच लाख लागतमा घर निर्माण हुने

bara parsa huri pidit

काठमाडौं, १३ बैशाख । सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषदले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट घर पूर्ण क्षति भएका एक हजार चार सय ५३ घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिइसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार सबै घर निर्माणका लागि करिब ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ सेनालाई उपलब्ध गराउने निर्णय भएको छ । सेनाले वर्षाभित्र घर निर्माणका लागि आवश्यकताअनुसार गैरसैनिक जनशक्ति पनि प्रयोग गर्ने तयारी गरेको छ ।

१२ वटा सामूहिक आवास निर्माण गर्ने

नेपाली सेनाले १२ वटा सामूहिक आवास निर्माण गर्नेछ । ‘प्रतिघर पाँच लाख ४५ हजार रुपैयाँमा बन्न सक्छ भन्ने प्राविधिक सुझाब रक्षा मन्त्रालयलाई दिएका छौँ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । सेनाले आवास निर्माणका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

‘बारामा एक हजार तीन सय ६२ वटा र पर्सामा ९१ वटा घर बनाउने जिम्मा पाएका छौँ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘सरकारले दिएको जिम्मेवारीअनुसार असारभित्रै घर बनाएर हस्तान्तरण गर्न सेना तयारी अवस्थामा छ ।’ बाराको सिमरास्थित सेनाको नम्बर २८ बाहिनीको संयोजनमा घर निर्माणका लागि सैनिक तयारी अवस्थामा छन् । जंगी अड्डामा पनि इन्जिनियरिङ विभागको कार्यदल तयार गरिएको प्रवक्ता पाण्डेले बताए । प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर सेनाले निर्माण सुरु गर्नेछ । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);