बन्द भए चिनी मिल किसानले एक रुपियाँ पनि पाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बन्द भए चिनी मिल किसानले एक रुपियाँ पनि पाएनन्

ukhu

काठमाडौं, १२ बैशाख । उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् ।

स्थानीय अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम वैशाख ३ गते र महालक्ष्मी चिनी उद्योग बगदह वैशाख ६ गते यो वर्षको उखु पेलि सकेर बन्द भएका हुन् । अन्नपूर्णले नौ लाख सात हजार ६९२ क्विन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्विन्टल उखु पेलेका छन् । यी दुवै उद्योगले यस वर्ष किसानलाई एक रुपियाँ पनि भुक्तानी गरेका छैनन् ।

क्रसिङ सिजन बन्द गर्ने अन्तिम सूचना निकालेको उत्तरी भेगको पूर्व–पश्चिम राजमार्गस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले हालसम्म ३४ लाख ७० हजार क्विन्टल उखु पेलेको छ । यो उद्योग पनि दुई–चार दिन सञ्चालन गरेर बन्द गर्ने तयारी छ । माघ पहिलो सातादेखि उखु पेल्न सुरु गरेको इन्दुशङ्करले किसानलाई माघभरको झण्डै ४५ करोड आठ लाख रुपियाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।

अन्नपूर्णले गत वर्षदेखिकै भुक्तानी रोकेकाले आफूहरु मारमा परेको धनकौल गाउँपालिका २ का उखु किसान रामकल्याण यादवले गुनासो गर्नुभयो । बुबा महेन्द्र राय यादव र मेरोसमेत गरी अन्नपूर्णबाट गत वर्ष र यो वर्षको २५ लाख रुपियाँ भुक्तानी लिन बाँकी छ, पैसा माग्न जाँदा आजभोलि भन्दै आलटाल गर्ने काम भइरहेको छ, यादवले भन्नुभयो । चिनी उद्योगी र किसानका प्रतिनिधीबीच उद्योग चल्नुअघि गत पुस अन्तिम साता महोत्तरीको बर्दिवासमा भएको वार्तामा उखु पेल्न सुरु गरेको ३० देखि ४५ दिनभित्र किसानलाई भुक्तानी गर्ने सहमति भएको थियो । तर उखु पेलिसकेर उद्योग बन्द हुँदासमेत अहिले किसानले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।

मैनालीले चिनी बिक्री नहुन्जेल भुक्तानी नगर्ने मिल सञ्चालकको अडानका कारण किसान मारमा परेका बताउनुभयो । पैसा दिने विषयमा चिनी उद्योगको अडान यथावत् छ, चिनी बिक्री नहुन्जेल पैसा दिन सकिँदैन, सरकारले किन्छ भने किनोस् भन्ने जस्ता नचाहिँदा कुरा आएको मैनालीले बताउनुभयो । उहाँका अनुसार सडक सङ्घर्ष गर्दा पनि सरकारबाट पाउनुपर्ने अघिल्लो वर्षकै एक÷डेढ करोड अझै किसानले पाउन सकेका छैनन् । उहाँले कहिले चिनी बाहिरबाट आयो, कहिले चिनी बिक्री भएन भन्ने जस्ता बहाना बनाएर किसानको भुक्तानी रोक्ने काम भइ रहेको गुनासो गर्नुभयो ।

उद्योगीले चिनी बिक्री नभएकाले किसानको पैसा दिन नसकिएको बताएका छन् । महालक्ष्मी चिनी उद्योग बगदहका महाप्रबन्धक राजेश पाण्डेले चिनी बिक्री हुनासाथ किसानको भुक्तानी दिन सुरु गर्ने बताउनुभयो । उत्पादन भएको चिनी बिक्री भएको छैन, केही मात्रामा बिक्री भएको चिनीको पनि पैसा उठेको छैन, पाण्डेले भन्नुभयो । यो समाचार आजको गोरखा पत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);