काठमाडौं, ११ बैशाख । ललितपुरस्थित नख्खुमा दुई महिनाअघि बम बिष्फोटमा संलग्न भएकाे आरोपमा पक्राउ परेका नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना जेल चलान भएका छन् । पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जनालाई ललितपुर जिल्ला अदालतले मंगलबार जेल चलानको आदेश दिएको हो ।
ओलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार र वीर बहादुर कठायत जेल चलान भएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा चलेको थियो ।
गत १० फागुनमा सो समूहले नख्खुमा एनसेलको कार्यालयलाई लक्षित गरी गराएको बिष्फोटमा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो । हिंसात्मक घटना बढाउँदै लगेपछि विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।