चालकले तेल चोर्न छाडेनन् : तेल चोरीमा संलग्नलाई कारबाही गर्न आयल निगम उदासीन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चालकले तेल चोर्न छाडेनन् : तेल चोरीमा संलग्नलाई कारबाही गर्न आयल निगम उदासीन

aayal nigam

काठमाडौं, ११ बैशाख । हवाई इन्धन चोरी आरोपीविरुद्ध मकवानपुर प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले ट्यांकर पार्किङ गरी तेल चोरी गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरिएको थियो । तिनीहरूविरुद्ध अदालतमा चोरी मुद्दाअन्तर्गत कारबाही अघि  बढाइएको हो ।

प्रहरीका अनुसार वैशाख १ गते बिहान १० बजे हेटौँडा–४, कमलडाँडामा पार्किङ गरेको ना.४ख ०१७७ नम्बरको ट्यांकरचालक बद्री गुरुङले तेल झिकिरहेका थिए । उनलाई दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारले सहयोग गरेका थिए । अवैध रूपमा तेल झिकिरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । टोलीले ६० लिटर हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।

‘टोली पुग्दा ट्यांकरबाट ६० लिटर तेल झिकिसकेका रहेछन्, रंगेहात पक्राउ गर्न सफल भयौँ,’ प्रहरी उपरीक्षक सिंहले भने । गुरुङले दुई साथी लगेर तेल चोरी गरेको बयान दिएका छन् । ट्यांकर काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपोका लागि चलान भएको थियो । निरीक्षक झाले भने बाहिर बजारमा बिक्री गर्न चालकले तेल चोरी गर्ने गरेको बताए । ‘चालकले बाहिर बिक्री गर्न तेल झिकेको बुझ्न आएको छ,’ उनले भने ।

प्रहरीले तेल चोरीमा संलग्नलाई समातेर कारबाही पक्रिया अघि बढाए पनि निगमले चासो दिएको छैन । तेल चोरीमा संलग्नलाई निगमले बनाएको ढुवानी विनियमावलीअनुसार कारबाही गर्ने प्रावधान छ । तर, यो घटनाबारे निगम अधिकारी बेखबर देखिन्छन् ।

चोरीको इन्धन पेट्रोलपम्पमा
निगमका एक प्राविधिकका अनुसार हवाई इन्धन मट्टीतेलमा सबैभन्दा राम्ररी मिसावट हुन्छ । तर, मुलुकमा मट्टीतेल कम खपत हुने भएकाले चोरीको तेल पम्प व्यवसायीले नै खरिद गर्छन् । हवाई इन्धन, पेट्रोल र डिजेल दुवैमा सजिलै मिसाउन सकिन्छ ।

स्रोतका अनुसार चोरीको हवाई इन्धन हेटौँडाकै पम्प व्यवसायीले खरिद गर्छन् । त्यहाँ तोकिएको मापदण्ड मिचेर छोटो दूरीमा धेरै पम्प खुलेका छन् । बजार मूल्यभन्दा धेरै सस्तोमा व्यवसायीले चोरीको हवाई इन्धन किन्छन् । चालकहरूले बीचबाटोमा झिकेको तेल बाटोमै पर्ने पम्पलाई बेच्ने गरेका छन् ।

कस्तो आधुनिक लकिङ ?
आयल निगमले तेल चोरीको घटना रोक्न आधुनिक लकिङ (ताला)को व्यवस्था गरेको छ । भारतमै आइओसीको प्रत्यक्ष निगरानीमा निगमले आधुनिक लकिङ लगाउँछ । तैपनि, चालकले तेल चोर्न छाडेका छैनन् । प्रहरी निरीक्षक पवनकुमार झाका अनुसार चालकले पाइपबाट तेल झिकिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ‘ट्यांकरको एउटा च्याम्बरको ढकनमा पाइपभित्र हालेर तेल झिकिरहेको अवस्थामा पक्राउ गरेका थियौँ,’ झाले भने, ‘ढकन पनि खुला थियो ।’ गत पुसमा आइओसीको बरौनी रिफाइनरीबाट विराटनगर डिपोमा तेल बोकेर आएको ट्यांकरले पनि बाटोमा ताला फोडेर तेल चोरी गरेको भेटिएको थियो ।

चोरीमा निगमबाटै सहयोग
भारतीय आयल कर्पोरेसन (आइओसी)बाट आउने ठूलो परिमाणका सिनामंगलस्थित डिपोमा आउने गरेको छ । यो डिपोलाई तेलको नोक्सानी लक्ष्य सञ्चालक समितिले तोकेको भन्दा बढी प्रदान गरिएको छ । सञ्चालक समितिले यो डिपोमा ०.६२ प्रतिशत नोक्सानी दर निर्धारण गरेको छ । तर, निगम व्यवस्थापनले सञ्चालक समितिको आँखा छलेर ०.८५ प्रतिशत नोक्सानी दिइरहेको छ । महालेखा परीक्षकको ५६औँ प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष ०७४–७५ मा ०.८५ प्रतिशत नोक्सानी दिइएको हो । यो समयमा निगम प्रमुखका रूपमा सुशील भट्टराई थिए । उनी हाल नायब कार्यकारी निर्देशक छन् । सञ्चालक समितिले विस्तृत अध्ययनपश्चात् तोकेको नोक्सानी लक्ष्यले नपुगेको दाबी गर्दै भट्टराईले बढाएका थिए । त्यसकै मौका छोपेर चालकले तेल चोरी गरी गर्दै आएका छन् । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);