गणतन्त्रमाथि अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

गणतन्त्रमाथि अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह

raprapra barta sampanna

काठमाडौं, १० बैशाख । राजतन्त्र, धर्म निरपेक्षताको खारेजी लगायतका २२ बुँदे माग राख्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच पहिलो चरणको बार्ता सम्पन्न भएको छ । सिंहदरबारमा मंगलवार बसेको बैठकमा बार्ता सकारात्मक भएको बार्ता टोलीमा सहभागीहरुले जनाएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको बैठकमा सरकारको तर्फबाट संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै अतिक्रमित हुने खालको मागमा पुनर्विचार गर्न आग्रह गरिएको सरकारी वार्ता टोलीका संयोजक तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनले जनसरोकारका विषयमा उठाइएको माग सम्बोधन गर्न भने सरकार सकारात्मक भएको बताए ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गठित वार्ता टोलीका संयोजक दिपक बोहराले जनसरोकारको विषयमा आफ्नो माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएकाले पुनः वार्ता गर्ने गरी वार्ता सकिएको बताए ।

सैद्धान्तिक विषयमा आफ्नो पार्टीले उठाएको मागका विषयमा पनि बैठकमा छलफल गर्दै अघि बढ्ने सहमति भएको संयोजक बोहराले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने लगायतका २२ बूँदे माग राख्दै आन्दोलन गरिरहेको थियो ।

माग पुरा गराउन केही दिन अघि भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा राप्रापा अध्यक्ष कमल थापा सहित दर्जनौ नेता, कार्यकर्ता घाईते समेत भएका थिए । आन्दोलनको स्वरुप वढ्दै जाँदा सरकार जनसरोकारका विषयका आफ्ना माग सम्बोधन गर्ने संकेत देखिएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेर वार्ता सुरु गरिएको राप्रापा बार्ता टोलीका संयोजक बोहराले बताए । वार्तामा सरकारी टोलीको तर्फबाट कानुन मन्त्री ढकाल र राप्रपाको तर्फबाट संयोजक बोहरा र निरञ्जन थापा सहभागी थिए ।