काठमाडौं, ९ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्स सामु रोमान्चक जित निकालेको छ ।
आइतवार राति भएको खेलमा बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो । बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नाईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । चेन्नईलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहेको बेला धोनीले उमेश यादबको पाँच बलमा ३ छक्का, एक चौका र २ रन जोड्दै टोलीलाई जित नजिक र्पुयाएका थिए । चेन्नेईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेको थियो । तर, अन्तिम बलमा शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित भयो। यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए । बैंगलोरका डेल स्टेन र उमेश यादबले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो। बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ् खेले । यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए । चेन्नईका दिपक चाहर, डयान ब्राभो र रविन्द्र जडेजाले २र२ विकेट लिए। चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ। पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ ।




