झापाको बाहुनडाँगीका युवा गाईपालनतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापाको बाहुनडाँगीका युवा गाईपालनतर्फ आकर्षित

gaipalan

झापा, २५ चैत । नेपालबाट दैनिक जस्तो वैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को लाग्दै आएको छ । तर, यसका बावजुद स्वदेशमै केही गर्नुपर्छ भन्नेहरुको जमात पनि कम छैन । त्यसमा पनि कतिपय युवा कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरेर आत्मानिर्भर बन्ने प्रयास गरिरहेका छन् ।

झापाको मेचीनगरस्थित बाहुनडाँगीका केही युवाहरु पछिल्लो समय आधुनिक प्रविधी अपनाएर व्यवसायिक रुपमा गाईपालन गरिरहेका छन् ।

बाहुनडाँगीका ४० वर्षीय केशव सुवेदीले सञ्चालन गरिरहेको गाई फार्ममा हाल एक सय चार वटा गाई छन् । बिर्तामोडस्थित बायो ग्याँस कम्पनीमा प्रबन्धक छँदाछँदैको जागिर छाडेर उनले पाँच वर्ष अघि चार वटा गाईबाट व्यवसाय शुरु गरेका थिए ।

आधुनिक प्रविधीको प्रयोग गरी व्यवस्थित तरिकाले पालिएका गाईबाट उनले दैनिक ११ सय लिटर दूध उत्पादन गर्ने गरेका छन् । उनले गाईपालन बाटै मासिक दुई लाखसम्म बचत गरिरहेका छन् ।

उनको फार्मबाट उत्पादित दूध शुरुमा भारतीय बजारमा बिक्री हुने गथ्र्यो । तर भारतीय बजारमा सोचेजस्तो मूल्य नपाएपछि भारत निर्यात गर्न बन्द गरेर झापाकै डेरी उद्योगलाई दूध बेचीरहेका छन् ।

७ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको गाई फार्मको पुँजी अहिले जमिनसहित २ करोड भन्दा बढी भइसकेको छ । उनले १७ बिघा जमिन लिजमा लिएर गाईका लागि ‘साइलेश’ प्रविधीबाट घाँस उत्पादन समेत गरिरहेका छन् ।

आफ्नै १ विघा जमिनको क्षेत्रमा गाईपालन गरेका उनले स्थानीय १० जनालाई समेत प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आगामी दिनमा उन्नत जातको गाई उत्पादन गरी ५ सय गाईपालन गर्ने उनको लक्ष्य छ ।

हाल बाहुनडाँगीको आधा दर्जन भन्दा बढी आधुनिक गाईपालन फार्महरु सञ्चालनमा छन् । सुवेदीको व्यवसाय देखेर गाउँका अन्य केही युवाले पनि गाई पाल्न थालेका छन् । उनकै प्रेरणाबाट काँकरभिट्टामा व्यापार गर्दै आएका उनका भाई सन्तोषले पनि गाउँमा नै आएर व्यवसायीक रुपमा गाईपालन सुरु गरेका छन् ।

व्यापार छाडेर एक वर्ष अघिदेखी व्यवसायीक रुपमा गाईपालन सुरु गरेका उनले महिनाको झण्डै एकलाखसम्म आम्दानी गरिरहेका छन् ।

सरकारले कृषि, पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेपनि झन्झटिलो व्यवस्थाका कारण युवा यो व्यवसाय आर्कषित हुन नसकेको उनीहरुको बुझाई छ । सरकारले आधुनिक तवरबाट पशुपालन गर्न प्रोत्साहन र बजारको व्यवस्था गर्नसके गाईपालनबाट पनि राम्रो आम्दानी गरी जीविकोपार्जन र रोजगारी सिर्जना गर्न सकिने सुवेदी बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);