उर्जामन्त्री पुनद्धारा बाग्मती नदी संरक्षण परियोजनाको स्थलगत अवलोकन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

उर्जामन्त्री पुनद्धारा बाग्मती नदी संरक्षण परियोजनाको स्थलगत अवलोकन

urjamantri pun

काठमाडौं, २३ चैत । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शनिबार बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री पुनले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव डा. संजय शर्मा, पूर्व सभामुख ओनसरी घर्तीसहित सो परियोजनाको स्थलगत अवलोकन गरेका हुन् ।

सुन्दरीजल माथि रहेको चिसापानी क्षेत्रमा बाग्मती नदीको प्रवाहलाई निरन्तरता दिन निर्माण गरिएको सो परियोजना सन् २०२० को फेबुअरी महिना भित्र सम्पन्न गरिसक्ने निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी गोन्जाओ–लामा–रमण जेबीको योजना छ ।

मन्त्री पुनले सिंगै काठमाडौंबासीको जीवन र वाग्मती सभ्यतासँग जोडिएको यो महत्वपूर्ण आयोजना भएकाले यसको निर्माण कार्य समयमै सम्पन्न गर्न मातहतका निकायलाई सचेत गराए । उनले सो आयोजना सरकारको प्राथमिकताको आयोजना भएकाले यसका लागि आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री पुनले सो आयोजनाको कामलाई समयमै सम्पन्न गर्न निर्माण कम्पनी गोन्जाओ–लामा–रमण जेबीलाई निर्देशन दिए । उनले निर्माण व्यवसायीहरुले काममा ढिलाई गरिदिँदा सरकार र राजनीतिक व्यवस्थामै प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अव आईन्दा निर्माणका काममा ढिलाई नगर्न पनि सचेत गराए ।

हिउँद महिनामा पनि बाग्मतीमा नदीको प्रवाह गराई राख्न सो परियोजना निर्माण कार्य सुरु गरिएको हो । नदी प्रवाहका लागि एउटा मुख्य जलाशय र २ वटा सहायक जलाशय निर्माण कार्य भईरहेको परियोजनाका प्रमुख नारायण सुवेदीले जानकारी दिए । ८ लाख ५० हजार घनमिटरको मुख्य जलाशय निर्माण हुने पनि परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुवेदीले सो परियोजनाको कामलाई अघि बढाउन आवश्यक जनशक्तिको पनि व्यवस्था गरिदिन मन्त्री पुनको ध्यानाकर्षण गराए ।

यता, निर्माण कम्पनी रमण कन्सट्रक्सनका प्रमुख रमण महतोले जलाशाय निर्माणको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी दिए । सन् २०२० को फेबु्रअरीसम्म सो परियोजनाको जलाशाय निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्य छ । एशीयाली विकास बैंकको सहयोगमा सन् २०१५ मा यो परियोजना निर्माण कार्य सुरु गरिएको हो ।