काठमाडौं, २२ चैत । विभिन्न कार्यक्रम गरि काठमाडौं उपत्यकामा शनिबार घोडेजात्रा पर्व मनाईएको छ । हरेक बर्ष चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ ।
नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडाैंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले विभिन्न प्रतियोगितामा उत्कृष्ठ घोडसवारहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
गुरुमापा भन्ने तुण्डि नामको राक्षसले बालबालिकालाई आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ ।