सरोज थापा, काठमाडौँ, १७ भदौ। मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा जनतासँग के भनेर भोट माग्ने भन्नेमा राजपाभित्र बहस भइरहेको छ । संविधान संशोधन विधेयक संसदले अस्वीकृत गरिदिएपछि जनतासँग भोट माग्ने अर्को गतिलो एजेण्डाको खोजी गरिरहेका राजपा नेताहरु छलफलमा व्यस्त छन् ।
यसअघि भएका दुई चरणको निर्वाचन राजपाले संविधान संशोधन नभएको भनेर बहिष्कार गरेको थियो । तर यसपाली त संविधान संशोधन विधेयक संसदले अस्वीकृत नै गरिसकेको छ । यो अवस्थामा चुनावी एजेण्डामार्फत दुई नम्बर प्रदेशका जनताको मन जित्न राजापाका लागि फलामको चिउरा चपाएझैँ हुने निश्चित छ । यद्यपी राजपाले संविधान संशोधनको एजेण्डलाई फेरि चुनावी एजेण्डा बनाउने तयारी गरेको छ । साथै हालैमात्र तराईले भोगेको डुबान समस्याको दीर्घकालीन समाधानलगायतका विषयलाई चुनावी एजेण्डा बनाउने उसको तयारी गरेको छ ।
त्यसो त राजपाजस्तै एजेण्डाहरु अरु दलले पनि अघि नसारेका हैनन् । विकास निर्माण, प्राकृतिक विपद् व्यवस्थापनलगायतका विषय समेटेर अन्य दलले पनि घोषणापत्र सार्वजनिक गर्नेछन् ।
यता तराई–मधेसका जनताका अधिकारका लागि लड्नेमा आफूलाई अब्बल राजनीतिक दल ठान्ने राजपासँग अब दरिलो चुनावी एजेण्डासमेत नभएको मधेस मामिलाका जानकार राजेश अहिराजको तर्क छ ।




