सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा पनि रेट्रोफिटिङ गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा पनि रेट्रोफिटिङ गरिने

singhdurbar-retrofitting

काठमाडौं, १९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडा पनि सवलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय पनर्निर्माण प्राधिकरणको विज्ञहरुसहितको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनमा भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडा पनि पुनर्निर्माण नभई सवलीकरण गर्दा हुने निष्कर्ष निकालेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो मोहडालाई पनि सवलीकरण गर्न सकिने निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले त्यसको सवलीकरण गर्दा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाईन तयार पारिएको स्पष्ट पारे । भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको सवलीकरणको काम आगामी बैशाख १५ गतेबाट सुरु गर्ने प्राधिकरणको योजना छ ।

बैशाख १५ गते भित्रबाट सो कामलाई अघि बढाउन टेन्डर आह्वान गरिसक्ने प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । यस अघि प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भाग भने पुनर्निर्माण गर्ने तयारी गरेको थियो ।

तर अध्ययनले त्यसलाई पनि सवलीकरण गर्न सकिने देखिएको प्राधिकरणको दावी छ । प्राधिकरणले हाल सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मत, सम्हारको कामलाई भने तीव्रता दिएको छ ।

पूरानै कलाकृतिहरुको संरक्षण हुने गरी आवश्यक काठ, स्टिललगायतका सामग्रीहरु फेर्ने काम पनि भईरहेकोे प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समितिलाई जानकारी गराए ।

प्राधिकरणले २ वर्ष भित्र रानी पोखरी र एक वर्ष भित्र काष्ठमण्डव पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि बनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानी पोखरीको पानीको सतह मिलाउने जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिइएको बताए ।

काठमाडौंको विभिन्न पोखरीहरुको सतह व्यवस्थापन गर्दै आएका स्थानीय उपभोक्ता समितिलाई रानी पोखरीको पानीको सतह मिलाउने जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीय उपभोक्ता समिति, विज्ञहरु रहेको समितिनै गठन गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अव रानी पोखरी पुनर्निर्माणको कामले पनि गति लिने बताए । प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);