काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हुरी बतासमा परी घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आइतवारको हावाहुरीमा परी घाईते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । सोमबार पत्रकार सम्मेलन गरी उनले सो घटनामा परी ४ सय ३ जना घाईते भएको र त्यसमध्ये गम्भिर घाइते ७ जनाको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको बताए ।
घाईतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको छ । प्रवक्ता श्रेष्ठले घाईतेहरुको बारा र पर्सास्थिति विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भईरहेको बताए ।