बिरामी यात्रु सडकमा फाल्ने ट्याक्सीचालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बिरामी यात्रु सडकमा फाल्ने ट्याक्सीचालक पक्राउ

TAXI MA MRITYU

काठमाडौं, १६ चैत । सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा पु-याउन भनेका थिए ।

उनी ट्याक्सीमा चढेको केही समयमै बेहोस भए । तर, चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयाससमेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्यान्ड्स अस्पतालअगाडिको सडककिनारामा झारिदिए र भागे । स्थानीयले निकैबेरपछि प्रहरीलाई खबर गरेर उनलाई अस्पताल पठाए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो ।

बुबाको प्रतीक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु भइसकेको थियो । बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारीहरूसमेत चकित भए । बा.१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमलबहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जोकोहीलाई स्तब्ध बनाउँछ । सय मिटर पर अस्पताल हुँदाहुँदै सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । सबैले चालक कमल श्रेष्ठको निन्दा गरेका छन् ।

‘सिसिटिभीकै सहयोगमा हामीले उनलाई पक्राउ गरी कारबाही अघि बढाएका छौँ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्ल भन्छन्, ‘उनले समयमै बिरामीलाई अस्पताल लगेको भए बाँच्ने सम्भावना थियो ।’ दोलखा घर भएका चालक श्रेष्ठले आत्तिएर बिरामीलाई सडकमा राखेर भागेको बताएका छन् ।

सुरुमा ट्याक्सी नम्बर पत्ता लगाउनै समस्या भएको गौशाला वृत्तका डिएसपी मल्ल बताउँछन् । घटनास्थलमा रहेको सिसिटिभीमा ट्याक्सी नम्बर प्रस्ट चिनिँदैन । अन्य क्षेत्रमा रहेका सिसिटिभी हेरेर उनलाई बुधबार साँझ नै पक्राउ गरिएको डिएसपी मल्लले बताए । अमानवीय व्यवहार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ । बिरामीको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट नआई मृत्युको कारण खुल्न नसक्ने प्रहरीको भनाइ छ । कारन्जित गोकर्णेश्वर क्षेत्रमा सामाजिक गतिविधिमा सक्रिय व्यक्ति थिए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);