बलात्कारबाट जन्मिएको छोरा आमालाई न्याय दिलाउन अदालतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलात्कारबाट जन्मिएको छोरा आमालाई न्याय दिलाउन अदालतमा

नयाँ दिल्ली। दुई दाजुभाइको बारम्बार बलात्कारपछि वर्षौदेखि अन्यायमा परेकी भारतीय महिला छोराको पहलमा न्याय पाउने आशामा छिन् । बलात्कारीबाट जन्मिएको छोराले उनलाई न्याय दिलाउन सहयोग गरिरहेका छन् । भारतको उत्तर प्रदेशकी ती महिला १२ वर्षकी हुँदा ६ महिनासम्म दुई पुरुषको बलात्कारको शिकार भएकी थिइन् । बीबीसीका अनुसार जन्मेको केही समयपछि धर्मपुत्रको लागि छोडिएको उनको छोरा १३ वर्षपछि उनलाई फिर्ता गरिएको थियो । उनै छोराले अहिले बलात्कारीविरुद्ध मुद्दा दायर गर्न आमालाई प्रोत्साहित गरे । केही दिनअघि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको थियो भने दोस्रो व्यक्तिलाई पनि हिरासतमा लिएको थियो । ‘घटना धेरै पुरानो हो, तर यसका कारण लागेको मानसिक चोट अझै निको भएको छैन’, महिलाले भनिन् ‘यसले मेरो जीवनलाई तहसनहस बनाएको छ ।

‘मेरो हृदयमा आतंक फैलाए’
उत्तर प्रदेशकी ती महिला सन् १९९४ मा शाजपुर सहरमा बलात्कार भएको बताउँछिन् । आरोपित मोहम्मद राजी र उनका भाइ नाकी हसन छिमेकमा बस्ने र एक्लै हुँदा घरको पर्खालबाट हाम फालेर कुटपिट गरेका थिए ।उनको स्वास्थ्यमा समस्या देखिएपछि मात्रै गर्भवती भएको थाहा भयो । बहिनीले डाक्टरकहाँ लगिन । चिकित्सकले उनको कमजोर स्वास्थ्यका कारण गर्भपतन नगर्न सुझाव दिए । शिशु जन्मिएपछि  धर्मपुत्रको लागि छोडियो । ‘शिशुका कारण मैले धेरै दुःख भोगेँ । तर, उसको अनुहार हेर्ने मौका पनि पाइनँ ’ उनले भनिन् । त्यतिबेला डरका कारण पीडित महिला र उनको परिवारले प्रहरीमा उजुरी दर्ता गरेनन् । ‘मैले बलात्कारको बारेमा कसैलाई भनेँ भने मेरो परिवारलाई मार्ने र हाम्रो घरमा आगो लगाउने धम्की दिए’, उनले भनिन्, ‘मैले स्कुल छोडेँ । पढ्न सकिन । ’

आफ्नो अघिल्लो घरसँग जोडिएको पीडादायी सम्झनाबाट बच्न महिला र उनको परिवार रामपुर जिल्लामा सरे । सन् २००० उनले विवाह गरिन र दोस्रो सन्तान जन्माइन् । यो नयाँ अध्यायले विगतका पीडा बिर्सन मद्दत गर्ने उनको आशा थियो । तर, विवाह भएको ६ वर्ष नबित्दै श्रीमानले बलात्कार भएको थाहा पाए । अनि उनैलाई दोष लगाए । छोरासहित घरबाट  निकालेपछि उनी आफ्नी बहिनी र परिवारसँग बस्न गइन् ।

सत्यका लागि छोराको खोजी
धर्मपुत्रको लागि छोडिएको उनको पहिलो छोराले पहिचानको कारण सामाजिक विभेद सामना गर्नुपर्‍योे । आफूलाई धर्मपुत्र बनाएको थाहा पाए । अन्ततः १३ वर्षपछि धर्म आमाबुवाले उनलाई वास्तविक आमाको जिम्मा लगाइदिए । तर, छोरा आफ्नो बुबा को हो भनेर जान्न चाहन्थे । किनकी उनको कुनै थर थिए । भारतमा सामान्यतया बुबाको थर लेख्ने चलन छ । यही कारण उनी विद्यालयमा हाँसोको पात्र बने ।उनले आफ्नो बाबुको बारेमा आमालाई लगातार प्रश्न सोध्थे र जवाफ नपाउँदा दुःखी हुन्थे । छोराले पहिचानविहीन जीवन बाँच्न नसक्ने’ र आफ्नो बुबाको नाम खुलासा नगरे आत्महत्या गर्ने धम्की दिएका थिए ।प्रश्न सोधेकोमा सुरुमा उनले गाली गर्थिन । अन्ततः उनी वास्तविक खोल्न बाध्य भइन् । वास्तविकता सुनेपछि छोरा उनको सबैभन्दा ठूलो सहयोगी बने ।
छोराको प्रोत्साहनपछि महिलाले सन् २०२० मा शाजपुरमा पुनः भ्रमण गरिन । तर, आरोपीविरुद्ध मुद्दा दर्ता गर्न गाह्रो भयो । उजुरी धेरै पुरानो भएकोले प्रहरीले दर्ता गर्न मानेन । एक जना वकिलसँग पुगिन्। झन्डै तीन दशक पुरानो मुद्दा लड्न गाह्रो हुने भन्दै वकिल सहयोग गर्न अनिच्छुक देखिए । ‘तीन दशकअघि तपाइँ बलात्कृत भएको थियो भनेर कसरी प्रमाणित गर्नुहुन्छ?’ उनका वकिलले उल्टै प्रश्न सोधे ।बाल्यकालमा उनी बसेको क्षेत्र चिन्नै नसक्ने गरी परिवर्तन भएको थियो । उनले आफ्नो पुरानो घर पनि फेला पार्न सकिनन् । आरोपितको पत्तै भएन ।

प्रमाण र पक्राउ
फेब्रुवरीमा गरिएको डीएनए परीक्षणबाट अहिले प्रमाण भेटिएको प्रहरीले जनाएको छ । शाजपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, ‘यो घटना एकदमै अप्रत्याशित थियो । महिलाले अगाडि आएर मुद्दा दायर गर्दा हामी छक्क पर्‍यौँ ।’ प्रहरीले लगत्तै उनको छोराको डीएनए नमूना लिएको थियो ।
विगत एक वर्षदेखि उक्त घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, ‘हामीले अभियुक्तको डीएनए नमूना संकलन गरी परीक्षण गर्दा एक जना आरोपितसँग छोराको डीएनए मिलेको छ ।’३१ जुलाईमा एकजना अभियुक्त पक्राउ परेका थिए र ३ साताअघि प्रहरीले दोस्रो व्यक्तिलाई पनि हिरासतमा राखेकोे थियो । आफूमाथि लागेको आरोपबारे अभियुक्तहरुले केही भनेका छैनन् ।भारतमा वर्षेनी हजारौँ बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक हुन्छन् । बीबीसीका अनुसार सन् २०२० मा बालबालिकाको संरक्षण ऐन (पोक्सो)अन्तर्गत ४७ हजार मुद्दा दर्ता गरिएको थियो । तर, बलात्कारबारे धेरै मुद्दा दायर नगरिएको हुन सक्ने अभियानकर्ता बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);