काठमाडौं, १३ चैत । महेन्द्रसिंह ध्वनीको टीम चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हात पारेको छ ।
मंगलबार दिल्ली क्यापिटल्सलाई उसैको घरेलु फिरोज शाह कोट्ला मैदानमा ६ विकेटले पराजित गर्दै चेन्नईले आफ्नो खेलमा लय कायम राख्न सफल भएको हो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई पराजित गरेको चेन्नईले अंक तालिकामा ४ अंक बनाउँदा दोस्रो खेलमा पराजित दिल्लीको २ अंक छ । मंगलबार कोट्ला मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले २ बल बाँकी छदै १ सय ५० रन बनाएर लक्ष्य पुरा गर्यो ।