हिमपातले २५ सय बढी चौपाया मर्दा ७ करोड क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिमपातले २५ सय बढी चौपाया मर्दा ७ करोड क्षति

mustang-manag_chapaiya

काठमाडौं, १३ चैत । अधिक हिमपातका कारण हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङमा किसानले पालेका याक, चौरी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया ठूलो संख्यामा मरेका छन्। प्रारम्भिक अध्ययन अनुसार मुस्ताङमा मात्र २ हजार १६ चौपाया मरेको गण्डकी प्रदेशको पशुपंक्षी महाशाखाका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. दीर्घनाथ ढुंगनाले जानकारी दिए।

अझै पनि मुस्ताङका खर्कहरूमा हिउँ पग्लिनसकेकोले चौपायाको अवस्थाको पूर्ण विवरण नआएको हो।  यसै गरी मनाङ जिल्लामा पनि हिमपातका कारण ठूलो संख्यामा याक र चौरी मरेका छन्। मनाङमा ९६ वटा याक र चौरी मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बताएको छ। मनाङमा लामो समयसम्म परेको हिमपातका कारण ६ सय ५ वटा याक र चौरी हराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए।

मुस्ताङको लोमान्थाङमा लगातार परेको हिमपातका कारण १ हजार ४ सय ४१ वटा भेडा च्याङ्ग्रा  मरेको तथ्यांक छ। एउटा भेडा च्याङ्ग्रालाई १५ हजार रुपैयाँका दरले २ करोड १६ लाख १५ हजार नोक्सान भएको गण्डकी प्रदेशको पशुपक्षी महाशाखाले बताएको छ।

हिमपातकै कारण ३ करोड ८२ लाख ५० हजार मूल्य बराबरका ५१० वटा चौरी, याक मरेको महाशाखाले बताएको छ।  गाई/गोरु ६४ वटा मरेका छन्। हिमपातकै कारण एउटा घोडासमेत मरेको हो।

मुस्ताङको लोमान्थाङमामात्र अहिलेसम्म ६ करोड १२ लाख ४५ हजार रुपैयाँ बराबरका चौपाया मरेको अनुमान छ। लामो समयसम्म परेको हिमपातका कारण मनाङ र मुस्ताङमा समेत गरी करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको अनुमान महाशाखाको छ।

चैतको दोस्रो सातासम्म पनि हिउँ पग्लिएको छैन। सोमबार पहाडी जिल्लामा परेको पानीका कारण हिमालपारीका जिल्ला मुस्ताङ र मनाङमा मसिनो हिउँ परिरहेको किसानले बताएका छन्।

हिमपातका कारण खान नपाएर र चीसोले कठ्याङ्ग्रिएर कति चौपाया मरे भन्ने तथ्यांक स्थानीय गाउँपालिकाले अझै पनि संकलन गरिरहेकोले त्यसपछि मात्र कति पशु मरे भन्ने यकिन तथ्याङ्क आउने मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

परापूर्वकाल देखि पशुपालनलाई प्रमुख व्यवसाय बनाएर निर्वाह गर्दै अएका मुस्ताङका किसान हिउँले चौपाया खाएर मर्कामा परेको भन्दै मुस्ताङका संघीय सांसद प्रेम तुलाचनले सरकारसँग तत्काल किसानलाई राहत दिन माग गरेका छन्।

हिउँले पशु खाएको एक हप्ता पछि रोगको संक्रमणले पनि चौपाया मरेकोले उपचारको व्यवस्था गर्न पनि उनले माग गरे।

गण्डकी प्रदेशका सासंद इन्द्रधारा विष्टले पनि प्रदेश सभामा मुस्ताङका किसानलाई छिटोभन्दा छिटो राहात दिन र संक्रमण रोगबाट चौपाया मरिरहेकोले औषधोउपचारका लागि पशु चिकित्सक पठाउन माग गरेका छन्। स्थानीय किसान किसन गुरुङले सोमबार लेकमा रहेका तीन वटा गोठमा पुग्दा ३ सय बढी भेडा च्याङ्ग्रा मरेको अवस्थामा फेला पारेको बताए।

गाउँपालिकाले क्षतिको विवरण संकलन गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताए। गाउँपालिकाले आफै पनि क्षतिपूर्ति रकम दिने र प्रदेश र केन्द्र सरकारबाट पनि क्षतिपूर्तिका लागि पहल गर्ने उनले सुनाए।

मुस्ताङका चौपायामा संक्रमण

लामो समय हिमपात भएको कारण ठूलो संख्यामा चौपाया मरेको मुस्ताङको लोमान्थाङका भेडा च्याङ्ग्रामा छेर्ने रोगको संक्रमण देखिएको स्थानीय किसानले बताएका छन्। अहिलेसम्म लोमान्थाङमा २ सय भन्दा बढि भेडा, च्याङ्ग्रा छेरेरै मरेको स्थानीय किसान तासी नरफु गुरुङले बताए।

‘पहिले हिउँले चौपाया खायो। अहिले चौपायामा छेर्ने रोग लागेर मर्दैछन्’, उनले सुनाए। उपचारपछि केही समय ठकै देखिएपनि फेरि छेरर्न थालेपछि चौपाया उठ्दै नउठी मर्ने गरेको उनले बताए। मुस्ताङका संघीय सांसद प्रेम तुलाचनले चौपायमा देखिएको संक्रमणका लागि औषधी सहित भेटेनरी डाक्टर पठाएको बताए।

मुस्ताङका किसान पशु बिमा नगर्दा मर्कामा पनि परेका छन्। पशु बिमाका बारेमा सचेत नहुँदा किसान मर्कामा परेका हुन्। यो समाचार अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले किसानका लागि पशु र बाली बिमा सहित वन्यजन्तुले घरपालुवा चौपाया क्षति पुर्याए राहत दिने गरी बजेट छुट्याए पनि किसानले पशु बिमा नगर्दा बिमा रकम पाउन वञ्चित हुने भएका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);