अख्तियारमा पोलिग्राफ बयान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

अख्तियारमा पोलिग्राफ बयान

akhtiyar durupayog

काठमाडौं, ९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपीसँग ‘पोलिग्राफ मेसिन’बाट बयान लिन सुरु गरेको छ। सेवाग्राहीबाट घुस असुलेको अभियोगमा सप्रमाण पक्राउ परेका तथा प्रारम्भिक छानबिनपछि अनुसन्धानमा रहेका आरोपितसँग पोलिग्राफ मेसिनको सहयोगमा बयान लिन थालिएको अख्तियारले जनाएको हो।

तत्कालका लागि नेपाल प्रहरीको पोलिग्राफ मेसिन प्रयोग गर्दै आएको र आगामी आर्थिक वर्षमा आफैं खरिद गर्ने योजना रहेको अख्तियारले जनाएको छ। नेपाल प्रहरीले सात वर्षअघि नै पोलिग्राफ मेसिन भित्र्याएको थियो। विभिन्न कसुरका आरोपितसँग प्रहरीले पोलिग्राफ मेसिनकै सहयोगमा बयान लिँदै आएको छ।

अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले अनुसन्धानमा बयान फेर्ने तथा तथ्य र प्रमाणभन्दा फरक बयान दिनेमाथि पोलिग्राफ मेसिनबाट बयान लिइने गरेको स्पष्ट पारे। प्रवक्ता कोइरालाले कतिपय अवस्थामा आरोपितलाई सप्रमाण समाउँदा पनि कसुर अस्वीकार गर्ने तथा अख्तियार र अदालतमा फरक–फरक बयान दिने प्रवृत्तिका कारण वैज्ञानिक अनुसन्धानअन्तर्गत पोलिग्राफको सहयोग लिनुपरेको स्पष्ट पारे।

तीन वर्षअघि नै पोलिग्राफ मेसिन भित्र्याउने योजना भए पनि सर्वोच्च अदालतबाट तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ‘अयोग्य’ घोषित भएपछि अख्तियार उक्त उपकरण किन्ने योजनाबाट पछि हटेको थियो। तर प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएपछि अनुसन्धानलाई प्रभावकारी र सशक्त बनाउने भन्दै अख्तियार पुनः पोलिग्राफ मेसिन आफैं खरिद गर्ने निष्कर्षमा पुगेको हो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।