न्यायाधीशले फैसला सक्नैपर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

न्यायाधीशले फैसला सक्नैपर्ने

cholendra-jabara

काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अनिवार्य अवकाश हुनुअघि नै मुद्दाका फैसला लेखिसक्न न्यायाधीशलाई निर्देशन दिएका छन्। अवकाश हुनुअघिको अन्तिम एक महिना इजलासमा बसेर न्याय सम्पादन गर्न पनि राणाले निर्देशन दिए। यस्तो निर्देशनसहितको सर्कुलर बिहीबार मुलुकभरका अदालतमा पठाइनेछ।

उच्च अदालत, विशेष, जिल्ला र न्यायाधीकरणमा अवकाश भएको महिनौंसम्म पनि न्यायाधीशले मुद्दामा पूर्ण फैसला नदिने बेथिति छ। सर्वोच्च तहमा झन् दुईतीन वर्षसम्म फैसला नलेखिँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। प्रधानन्यायाधीश राणाले छिटो, प्रभावकारी र न्यायमा पहुँच वृद्धि हुने अपेक्षासहित निर्देशन दिएको अन्नपूर्णलाई बताए। प्रधानन्यायाधीशको यो निर्णयलाई स्वागतयोग्य भन्दै न्याय क्षेत्रमा प्रशंसा भएको छ।

‘उमेर हदका कारणबाट अवकाश हुने कुनै पनि न्यायाधीशलाई संविधान र कानुनले अवकाश प्राप्त गर्ने अन्तिम अवधिसम्म इजलासमा बसी मुद्दाको सुनुवाइ र फैसला गर्न कुनै किसिमको बन्देज लगाएको छैन’, निर्देशनामा भनिएको छ, ‘तथापि अवकाश हुने अन्तिम दिनसम्म न्यायाधीशले इजलासमा बसी मुद्दाको नियमित सुनुवाइ र फैसला गर्नुभन्दा आफूले गरेका फैसला वा आदेश तयार गर्ने र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्नु व्यावहारिक र उपयुक्त हुन्छ।’

अवकाशपूर्व नै फैसला लेखिँदा न्यायका उपभोक्ताले समयमा फैसला वा आदेश प्राप्त गर्ने अवस्था सिर्जना हुने निर्देशनमा उल्लेख छ। ‘न्यायाधीश अवकाश हुँदाकै अवस्थामा न्यायिक कामकारबाहीको दायित्वबाट अलग हुन पाउने अवस्था सिर्जना हुनेछ,’ निर्देशनमा भनिएको छ, ‘अनिवार्य अवकाश हुने मितिभन्दा सामान्यतया एक महिनाअगाडिदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने कार्यबाट अलग रहने गरी त्यहाँ र मातहत अदालतमा समेत आवश्यक व्यवस्थापन गर्नुहोला।’

प्रधानन्यायाधीश राणाले स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादनको जनअपेक्षा पूरा गर्न लगन, मेहनत, क्षमता, इमानदारी र जबाफदेहिताका साथ काम गर्न निर्देशन दिएका छन्। न्यायपालिकाप्रतिको जनआस्था वृद्धि गर्न र साख कायम गर्न संवेदनशीलताका साथ भूमिका निर्वाह गर्न पनि न्यायाधीशलाई निर्देशन दिइएको छ। बिचौलिया पहिचान गरी अदालतमा प्रवेश रोक लगाउन र न्यायिक सुशासन कायम गर्न राणाले निर्देशन दिएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);