काठमाडौं, २३ फागुन । थारु संघ, संगठनहरुले सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
थारु कल्याणकारिणी सभा केन्द्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटलगायतका संघ, संगठनहरुले अदालतको सो फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माईतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरुमाथि राज्यले ठूलो अत्याचार र दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको जानकारी दिइन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले टिकापुर हत्याको घटनामा आफूहरुको संलग्नता नभएको भन्दाभन्दै पनि अहिले आएर निर्दोष सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
टिकापुर घटना व्यक्तिगत नभई राजनीतिक भएकाले त्यसको समाधान पनि राज्यले राजनीतिक रुपमा गर्नुपर्ने अध्यक्ष चौधरीको माग छ ।




