काठमाडौं, २१ फागुन । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौंता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकबीच उक्त संझौता भएको हो । दुई मुलुकबीचको दोहोरो कर उन्मुक्ति समबन्धि संझौतामा राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले हस्ताक्षर गरेका थिए ।
दुवै देशको मन्त्रीपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडा र नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।
उक्त सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति सोही देशमा मात्रै कर तिर्दा हुने व्यवस्था गरिएको छ ।
पछिल्लो समय बंगलादेशबाट नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई सो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ ।
बंगलादेशसँग दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौता गर्ने तयारी सरकारले २०७१ सालमै गरेको थियो । नेपालले यस्तो सम्झौता यसअघि नै भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया र थाईल्याण्डसंग गरिसकेको छ ।




