काठमाडौं ।
नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा दुई दिने शैक्षिक मेला शुरु भएको छ । विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ । मेलाका आयोजक एवं भिजन मिडिया इन्कर्पोरेशन एजुकेसन डटकमका प्रवन्ध निर्देशक तारामान रावलकाअनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयहरूको क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ । हाल नेपालमा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अतिरिक्त विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूले विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने उच्चस्तरीय कोर्षहरू सञ्चालन गरिरहेका छन् । यस वर्षको मेलामा ५० भन्दा बढी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता रहेको छ ।
जसमा काठमाडौं विश्वविद्यालयको कुसुमो, शंकरदेव क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, एनइसी इन्जिनियरिङ क्याम्पस र पर्यटन क्षेत्रको लागि न्याथम लगायतका प्रतिष्ठित कलेजहरु रहेको रावलले बताउनु भयो । मेलामा विद्यार्थीले बायोमेडिकल इन्जिनियरिङ, इथिकल ह्याकिङ, एभिएसन, व्यवस्थापन, सूचना प्रविधि र मानविकी लगायतका २५ भन्दा बढी विधाका कोर्षहरूको बारेमा विस्तृत जानकारी लिन सक्नेछन् । उहाँले शिक्षालाई केवल आर्थिक उपार्जनको माध्यमका रूपमा मात्र नहेरी यसलाई ‘जीवनभरको लगानी’ का रूपमा बुझ्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो । पछिल्लो समय विद्यार्थीमा अध्ययन भन्दा पनि वैदेशिक रोजगारीलाई प्राथमिकता दिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँका उत्पादित जनशक्तिको पारिश्रमिक तथा बजार माग समेत उच्च रहेको जानकारी दिनुभयो । मेलामा सहभागी हुने विद्यार्थीका लागि विशेष सहुलियतको समेत व्यवस्था गरिएको छ । मेलामार्फत भर्ना प्रक्रियामा जाने विद्यार्थीले सम्बन्धित कलेजको शुल्कमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, कक्षा १२ मा अध्ययनरत र परीक्षा दिएर बसेका विद्यार्थीका लागि प्रोत्साहनस्वरूप मुभी टिकट र विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको पनि उहाँले बताउनु भयो । दुई दिनसम्म चल्ने यस मेलाले विद्यार्थी, अभिभावक र विश्वविद्यालयहरूबीच एउटा मजबुत पुलको काम गर्ने र स्वदेशी शिक्षाको गरिमा बढाउन टेवा पु¥याउने अपेक्षा गरिएको छ




