काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बुधबार शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको उल्लेख गरेका छन्।
सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
बिज्ञप्तिमा देउवाले दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा शोक सहने शक्तिका लागि भगवानसँग प्रार्थना गर्दै दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह समेत गरेका छन्।




