कान्तिबाल अस्पतालमा जनशक्ति र बजेट अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

कान्तिबाल अस्पतालमा जनशक्ति र बजेट अभाव

kanti bal hospital

फूलमाया आले
काठमाडौं, १२ फागुन । बालबालिकाको मात्र उपचार गर्ने एक मात्र सरकारी कान्तिबाल अस्पतालमा प्रत्येक वर्ष बिरामीको संख्या बढिरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ । तर यतिखेर जनशक्ति र बजेट अभावका कारण बालबालिकालाई उपचार सेवा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

देशभरका बालबालिकाको उपचार गर्ने विशिष्टीकृत बालअस्पताल कान्ति बाल अस्पताल मात्र हो । सरकारी स्वामित्वमा संचालन भएको पहिलो र एकमात्र अस्पताल देशभरका बालबालिकाको उपचार गर्ने स्थल हो ।

देशका विभिन्न भागदेखि बालबालिका ल्याएर उपचार गर्ने अस्पतालमा प्रत्येक वर्ष विरामीहरुको संख्या बढ्दै गइरहेको छ । २०७४/७५ मा अस्पतालबाट सेवा लिने बिरामीको संख्या हेर्ने हो भने २ लाख २० हजार रहेको अस्पतालको तथ्याङ्कले देखाउँछ ।

तर विरामीको आकर्षण भएर पनि अस्पतालले सेवा सुविधा भने दिनसकेको छैन । बाल अस्पताल भएपनि बालबालिकाको नाक, कान, घाँटी, आँखा र हाडजोर्नीको विषेशज्ञ नभएको कारण अस्पतालले उक्त उपचार सेवा दिन सकिरहेको छैन ।

अस्पतालमा मेडिकल अफिसरको दरबन्दी ३९ जना भएपनि १ जना स्थायी, ५ जना करारमा र १० जना एमडी एमएस अध्ययन गरीररहेका चिकित्सक गरी जम्मा १६ जना कार्यरत छन् ।

त्यस्तै स्टाफ नर्सको दरबन्दी ८४ जना छ तर करिब १५ जना अध्ययन बिदामा छन् । त्यसैले अस्पतालले नेपाल मेडिकल संघ अन्र्तगतको आवासीय चिकित्सक र विकास समितिको सहयोगमा सेवा दिइरहेको छ ।

सरकारले गत आर्थिक वर्षमा २१ करोड ८४ लाख विनियोजन गरेकोमा यस वर्ष १२ प्रतिशतले घटेर १९ करोड २० लाख रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ । अस्पतालमा विकास समिति र नेपाल सरकारबाट खटिएका कर्मचारीको तलब भत्ताको लागि मात्र करिब ३० करोड आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि नयाँ उपकण तथा सरसफाईका लागि आवश्यक सामान खरिद गर्न समेत समस्या हुने गरेको छ । अस्पतालले बजेट अभावमा अक्सिजन प्लान्ट समेत खरीद गर्न सकेको छैन ।

त्यति मात्र हैन वातावरण विभागको मापदण्ड अनुसार अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्नका लागि आवश्यक मेसिन पनि अस्पतालसँग बजेट अभावका कारण खरिद हुन सकेको छैन । अस्पतालले पुराना उपकरणलाई मर्मत गर्दै उपचार सेवा दिर्दै आइरहेको छ ।

पछिल्लो समय बिभिन्न माग राखी सरकारी चिकित्सकहरु आन्दोलनका आन्दोलनमा उत्रिएपछि बालबालिकाको उपचारमा झनै कठिनाई हुँदै गएको अस्पतालले जानकारी दिएको छ । कान्ति बाल अस्पतालमा एकमात्र अपरेशन थिएटर सञ्चालित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);