काबुलमा बाल मुटु अस्पतालको शुरुवातः विपन्न परिवारका लागि ‘आशाको किरण’ | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

काबुलमा बाल मुटु अस्पतालको शुरुवातः विपन्न परिवारका लागि ‘आशाको किरण’

अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा हालै सञ्चालनमा आएको एक विशेष बाल मुटु अस्पतालले मुलुकभरका जन्मजात मुटुरोगबाट पीडित बालबालिकाका लागि जीवनदानको नयाँ ढोका खोलेको छ । चरम स्वास्थ्य सेवा अभाव र आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानमा यो अस्पताल गरिब परिवारका लागि आशाको केन्द्र बनेको छ । अफगान रेड क्रेसन्ट सोसाइटीको सहयोगमा स्थापना गरिएको ५० शैय्याको यो अस्पतालले विशेषगरी जन्मजात मुटुमा प्वाल पर्ने लगायतका जटिल समस्या भएका बालबालिकाको निःशुल्क निदान र शल्यक्रिया सेवा दिइरहेको छ । निजी अस्पतालमा उपचार गराउन लाखौं खर्च लाग्ने भएपछि निराश भएका परिवारका लागि यो अस्पतालले निःशुल्क सेवा दिएर ठूलो राहत दिएको छ ।

जोजान प्रान्तबाट करिव ३९० किलोमिटरको यात्रा तय गरेर आएका मोहम्मद हसन आफ्नो तीन वर्षीया छोरीको उपचारका लागि अस्पताल पुगेका छन् । दैनिक ज्यालादारी गर्ने हसनका लागि निजी अस्पतालले मागेको ३ लाख अफगानी मुद्रा (करिव ४,५५० डलर) जुटाउनु असम्भव थियो। उनले यसअघि उपचार अभावमा आफ्नी दुई महिनाकी छोरी गुमाइसकेका छन्, त्यसैले यो अस्पताल उनका लागि जीवन र मरणको सवाल बनेको छ।्ल्लअस्पतालका प्रमुख डा. अब्दुल वली अतमन्जाईकाअनुसार सञ्चालनमा आएको दुई महिनाको अवधिमा हालसम्म १५४ बालबालिकाको सफल शल्यक्रिया भइसकेको छ । दैनिक ४ देखि ८ वटासम्म शल्यक्रिया हुने यो अस्पतालमा प्रतिदिन २० देखि ३० नयाँ बिरामी दर्ता हुने गरेका छन् । अस्पतालले जाँच, औषधी र शल्यक्रियालगायतका सम्पूर्ण सेवा पूर्णतः निःशुल्क प्रदान गर्दै आएको छ । डा. अतमन्जाईका अनुसार अफगानिस्तानभर करिव १ लाखभन्दा बढी बालबालिका मुटुरोगबाट प्रभावित रहेको अनुमान छ । समयमै उपचार नपाउँदा २० देखि २५ प्रतिशत बालबालिकाको ज्यान जोखिममा पर्ने गरेको उनले औंल्याए । अस्पतालको यो पहलले बालबालिकाको अनुहारमा मुस्कान फर्काउनुका साथै आर्थिक बोझले थिचिएका परिवारका लागि नयाँ भविष्यको ढोका खोलेको छ ।

Leave a Reply

ताजा समाचार